काठमाडौं, निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यका लागि पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ ४० प्रतिशत मतपत्र छपाइ सम्पन्न भएको बताएको छ । योसँगै समानुपातिक तथा पहिलो हुने निर्वाचित हुने प्रणाली दुवै गरी कुल संख्याको करिब ७० प्रतिशत मतपत्र छपाइ सम्पन्न भएको छ । यस्तै, आइतबारसम्म पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ एक करोड ६७ लाख पााँच सय मतपत्रको छपाइ सम्पन्न भएको छ । जसमा प्रतिनिधिसभाका लागि ८७ लाख एक हजार र प्रदेशसभाको ८० लाख ५७ हजार पाँच सय मतपत्र रहेका छन् । समानुपातिक निर्वाचन प्रणालीतर्फको करिब चार करोड मतपत्र भने यसअघि नै छपाइ सम्पन्न भइसकेको आयोगको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिएका छन् । उनका अनुसार आयोगको पछिल्लो तथ्यांकअनुसार निर्वाचनमा कुल एक करोड ७९ लाख ८५ हजार ७० जना मतदाता रहेका छन् । यी मतदाताहरूले समानुपातिक तथा पहिलो हुने निर्वाचित हुने दुई प्रणालीका लागि चारवटा मतपत्रमा भोट हाल्नुपर्ने हुन्छ । यसअनुसार आगामी निर्वाचनका लागि करिब आठ करोड मतपत्र आवश्यक पर्छ ।यस्तै, समानुपातिक निर्वाचन प्रणालीतर्फ भने ६८ जिल्लामा मतपत्र ढुवानी भइसकेको छ । अब नौवटा जिल्लमा मात्र मतपत्र ढुवानी हुन बाँकी रहेको छ । ढुवानी भएकामध्ये प्रदेशसभाका लागि एक करोड ९६ लाख १७ हजार तथा प्रतिनिधि सभातर्फ एक करोड ९३ लाख १३ हजार मतपत्र रहेको छ । अब प्रदेशसभाको पाँच लाख ६८ हजार तथा प्रतिनिधिसभाको पाँच लाख ५८ हजार मतपत्र मात्र ढुवानी हुन बाँकी रहेको छ ।