काठमाडौं । फाइनान्स कम्पनीहरुको खुद मुनाफामा उच्चरुपमा गिरावट आएको छ । वित्तीय प्रणालीमा देखिएको तरलताको अभावको कारण फाइनान्स कम्पनीहरुको निक्षेप तथा कर्जा प्रवाह दुवैमा संकचुन आएकाले पनि खुद मुनाफा घटेको हो ।
क्षेत्रीय तथा राष्ट्रियस्तरमा समेत गरी नेपालमा १७ वटा फाइनान्स कम्पनीहरु सञ्चालनमा रहेकोमा हालसम्म नौवटाले मात्र चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अर्थात् असोज मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । सोअनुसार नौवटा फाइनान्सले यही असोज मसान्तसम्ममा १६ करोड १९ लाख २७ हजार चार सय ५० रुपैयाँ खुद मुनाफा कमाएका छन् । फाइनान्स कम्पनीहरुले कमाएको यो मुनाफा गत आवको सोही अवधिको तुलनामा झण्डै दुई गुणा अर्थात् ४७ करोड २१ लाख आठ हजार दुई सय ५० रुपैयाँले कम हो ।
गत आवको सोही अवधिमा नौवटा फाइनान्सको खुद मुनाफा ६३ करोड चार लाख ३५ हजार दुई सय ५० रुपैयाँ रहेको थियो । चालू आवको पहिलो त्रैमासिकमा मञ्जुश्री फाइनान्सले सात करोड ११ लाख ३७ हजार रुपैयाँ खुद मुनाफा कमाएकोमा गोर्खाज फाइनान्सले भने तीन करोड ३३ लाख १४ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा यी दुई फाइनान्सहरुको यस्तो नाफा दुई करोड ८६ लाख ९३ हजार र एक करोड ६५ लाख ७० हजार चार सय ६० रुपैयाँ थियो ।
गत आवको पहिलो त्रैमासिकमा तीन करोड ३६ लाख ७४ हजार तीन सय ३० रुपैयाँ खुद मुनाफा कमाएको प्रोग्रेसिभ फाइनान्सको खुद मुनाफा भने घटेको छ । सो अनुसार प्रोग्रेसिभको चालू आवको पछिल्लो त्रैमासिकमा दुई करोड २९ लाख ३१ हजार सात सय ६० रुपैयाँ खुद मुनाफा कमाएको छ । सेन्ट्रल फाइनान्सको खुद मुनाफा पनि पछिल्लो अवधिमा खुम्चिएर ९३ लाख ६६ हजार तीन सय १० रुपैयाँमा कायम छ ।
गत आवको सोही अवधिमा सेन्ट्रलको यस्तो नाफा एक करोड ३६ लाख ४८ हजार चार सय ६० रुपैयाँ थियो । गत आवको पहिलो त्रैमासिकमा ३५ लाख २५ हजार रुपैयाँ खुद मुनाफा कमाएको नेपाल फाइनान्सले भने पछिल्लो अवधिमा खुद मुनाफा बढाएर ८१ लाख ७९ हजार रुपैयाँ पु-याएको छ । बेष्ट फाइनान्सले भने चालू आवको पहिलो त्रैमासिकमा ५९ लाख ३३ हजार पाँच सय ३० रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा बेष्टको यस्तो नाफा १२ करोड ११ लाख ६० हजार पाँच सय ७० रुपैयाँ थियो ।
गत आवको पहिलो त्रैमासिकमा १२ लाख ९७ हजार एक सय ९० रुपैयाँ खुद मुनाफा कमाएको पोखरा फाइनान्सले भने चालू आवको पहिलो त्रैमासिकमा खुद मुनाफा बढाएर ४६ लाख ९० हजार तीन सय ५० रुपैयाँ पु-याउन सफल भएको छ । गत आवको पहिलो त्रैमासिकमा ३९ करोड ९७ लाख २० हजार दुई सय ४० रुपैयाँ खुद मुनाफा कमाएको श्री इन्भेष्टमेन्ट फाइनान्सको नाफा भने घटेर पछिल्लो अवधिमा ४१ लाख दुई हजार नौ सय ९० रुपैयाँमा खुम्चिएको छ ।
यसैगरी गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स फाइनान्सको खुद मुुनाफा पनि गत आवको पहिलो त्रैमासिकमा एक करोड ५७ लाख ४६ हजार रुपैयाँ रहेकोमा चालू आवको पछिल्लो अवधिमा घटेर २२ लाख ७२ हजार रुपैयाँमा खुम्चिएको छ । गुडविल, रिलायन्स, जानकी, समृद्धि, आईसीएफसीसहितका आठवटा फाइनान्सको भने अपरिष्कृत वित्तीय विवरण सार्वजनिक हुन बाँकी देखिएको छ ।