काठमाडौं । चालू आर्थिक वर्षको पछिल्लो तीन महिनाको अवधिमा १० वटा विकास बैंकहरुले एक अर्ब ३६ करोड ६० लाख ३५ हजार एक सय ६० रुपैयाँ खुद मुनाफा कमाएको छ । विकास बैंकहरुले कमाएको यो नाफा गत आवको सोही अवधिको तुलनामा निकै कम हो । गत आवको सोही अवधिमा विकास बैंकहरुको यस्तो नाफा एक अर्ब ६० करोड ५३ लाख सात हजार रुपैयाँ रहेको थियो ।
नेपाली वित्तीय प्रणालीमा १७ वटा विकास बैंकहरु सञ्चालनमा रहेकोमा हालसम्म १२ वटा विकास बैंकहरुले मात्र चालू आवको पछिल्लो तीन महिनाको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । तीमध्ये शाइन रेसुंगा डेभलपमेन्ट बैंक, गरिमा विकास बैंक, साँग्रिला डेभलपमेन्ट बैंक, मितेरी डेभलपमेन्ट बैंक र सिन्धु विकास बैंकको नाफा सामान्यरुपमा बढे पनि मुक्तिनाथ विकास बैंक, महालक्ष्मी विकास बैंक, ज्योति विकास बैंक, लुम्बिनी विकास बैंक र कामना सेवा विकास बैंकको नाफा भने घटेको छ । यस अवधिमा क्षेत्रीयस्तरमा वित्तीय कारोबार सञ्चालन गर्दै आएको नारायणी डेभलपमेन्ट बैंक र ग्रिन डेभलपमेन्ट बैंकको खुद मुनाफा भने ऋणात्मक देखिएको छ ।
विकास बैंकहरुमध्ये बढी नाफा कमाउने पाँचवटा बैंकहरुमा मुक्तिनाथ, शाइन, गरिमा, महालक्ष्मी र ज्योति परेका छन् । चालू आवको पहिलो त्रैमासिकमा यी बैंकहरुले क्रमशः ३० करोड ७४ लाख १५ हजार २० करोड ९१ लाख ३६ हजार, १९ करोड ३३ लाख २८ हजार, ११ करोड ९३ लाख ३९ हजार र १० करोड ९८ हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् । गत आवको सोही अवधिमा भने यी बैंकहरुको यस्तो नाफा ३४ करोड ५५ लाख ८७ हजार, १४ करोड ७३ लाख ६३ हजार, १८ करोड ४४ लाख १९ हजार, २३ करोड पाँच लाख ३४ हजार र २१ करोड ७८ लाख ५५ हजार रुपैयाँ थियो ।
चालू आवको पछिल्लो तीन महिनाको अवधिमा लुम्बिनी, साँग्रिला र कामना सेवा विकास बैंकहरुले भने क्रमशः सात करोड १० लाख २९ हजार, पाँच करोड ५३ लाख ४३ हजार र चार करोड १५ लाख ६१ हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् । गत आवको सोही अवधिमा भने यी बैंकहरुले क्रमशः २१ करोड ३१ लाख ६४ हजार, पाँच करोड ४४ लाख ३१ हजार र १७ करोड ५७ लाख ४७ हजार रुपैयाँ खुद मुनाफा कमाएका थिए । मितेरी र सिन्धु विकास बैंकले भने चालू आवको पछिल्लो तीन महिनाको अवधिमा क्रमशः तीन करोड ६६ लाख २२ हजार र २१ लाख ५८ हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् । गत आवको सोही अवधिमा भने मितेरीले तीन करोड ६२ लाख दुई हजार रुपैयाँ खुद मुनाफा कमाउँदा सिन्धुले ६६ लाख ६९ हजार रुपैयाँ खुद नोक्सानी व्यहोरेको थियो ।
अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेकामध्ये नारायणी र ग्रिन डेभलपमेन्ट बैंकले भने खुद नोक्सानी व्यहोरेका छन् । चालू आवको पहिलो त्रैमासिकमा नारायणीले एक करोड ६७ लाख एक हजार रुपैयाँ खुद नोक्सानी व्यहोर्दा ग्रिनले एक करोड ७८ लाख ३६ हजार रुपैयाँ खुद नोक्सानी व्यहोरेको थियो । गत आवको सोही नारायणीले नौ लाख ११ हजार रुपैयाँ खुद नोक्सानी व्यहोेर्दा ग्रिनले छ लाख १३ हजार रुपैयाँ खुद मुनाफा कमाएको थियो ।
