ललितपुर । एनएमबी बैंकको ललितपुर महानगरपालिका–५ कुमारीपाटीमा रहेकोे एटीएम मेसिन तोडफोड गरी चोरीको प्रयास गर्ने कार्यमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा नुवाकोट बेलकोटगढी नगरपालिका–३ घर भई ललितपुर, ललितपुर महानगरपालिका–१७ ग्वार्को बस्ने ३१ वर्षीय वसन्त तिवारी, सोही महानगरपालिका–६ सुन्धारा बस्ने २४ वर्षीय विजय तिवारी र सुनसरी धरान उपमहानगरपालिका–१५ भानुचोक घर भई ललितपुर, ललितपुर महानगरपालिका–६ सुन्धारामा बस्ने ३५ वर्षीय अनिल राई छन् ।
कात्तिक ४ गते राति उनीहरुले उक्त बैंकको एटीएम मेसिन तोडफोड गरी रकम चोरी गर्ने प्रयास गरी फरार रहेका उनीहरूलाई जिल्ला प्रहरी परिसर ललितपुर तथा वडा प्रहरी कार्यालय लगनखेलबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनीहरुउपर जिल्ला अदालत ललितपुरबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।