दोहा । कतारले विश्वकप तयारीका क्रममा मारिएका वा घाइते भएका आप्रवासी कामदारका आश्रित परिवारका लागि क्षतिपूर्ति कोषको मागलाई अस्वीकार गरेको छ । एएफपीका अनुसार कतारका श्रममन्त्री अली बिन समिख अल मारीले कतारले लाखौं डलर भुक्तानी नगरेको तलब दिइसकेको बताएका हुन् । उनले खाडी राष्ट्रका आलोचकमाथि ‘जातिवाद’को आरोप लगाएका छन् । मारीले कतारसँग कामदारको मृत्यु र घाइतेको उपचारका लागि कोष रहेको बताए । ‘फिफाको नेतृत्वमा क्षतिपूर्ति अभियानको यो आह्वान पब्लिसिटी स्टन्ट हो’, उनले एक विशेष अन्तर्वार्तामा भने, ‘हाम्रो ढोका खुला छ । हामीले धेरै मुद्दाको निरुपण र समाधान गरेका छौँ ।’
एम्नेस्टी इन्टरनेसनल र ह्युमन राइट्स वाचले फिफा र कतारलाई ४४ करोड अमेरिकी डलर बराबरको कामदारका लागि कोष बनाउन माग गरेका छन् । मानवअधिकारवादी समूहहरूले कतारले मृत्युको रिपोर्टिङ कम गरेको आरोप लगाएका छन् । कतार सरकारले निर्माणस्थलमा भएका दुर्घटना वा गर्मीका कारण हुने रोगका कारण हजारौँको मृत्यु भएको भन्ने समाचारप्रति कडा आपत्ति जनाएको छ ।
फिफाले कोषको बारेमा ‘निरन्तर संवाद’ भइरहेको बताएको छ, तर सरकारको पहिलो सार्वजनिक टिप्पणीमा, मारीले भने, ‘यो प्रस्ताव अव्यावहारिक थियो ।’ यस पहिले गत आइतबार मारीले हरेक मृत्यु एक प्रकारले दुःखद भए पनि यी कोषहरू स्थापना गर्ने कुनै मापदण्ड नभएको उनले बताए ।
उनले प्रतिप्रश्न गर्दै भने, ‘पीडित कहाँ छन्, पीडितको नाम छ, यो नम्बर कसरी प्राप्त गर्न सकिन्छ ?’ केही अन्तर्राष्ट्रिय ट्रेड युनियनका नेताहरूले पनि नयाँ कोष स्थापना र व्यवस्थापन गर्न निकै जटिल हुने बताएका छन् । कतारले सन् २०१८ मा श्रमिक सहायता तथा बीमा कोषको स्थापना गरेको थियो जसले तलब नपाएका कामदारलाई सहयोग गरेको थियो ।