काठमाडौँ । दुई जना भारतीयसहित हुण्डी कारोबारमा संलग्न तीन जना व्यक्तिहरु पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनका प्रवक्ता एवं सूचना अधिकृत प्रहरी उपरीक्षक कृष्ण प्रसाद कोइरालाका अनुसार काठमाडौं विशालबाजारस्थित अनुज सेन्टर र न्युरोड खिचापोखरीस्थित जय दुर्गा ट्रेड इन्टरनेशनलबाट हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा तीन जनालाई बुधबार पक्राउ गरिएको हो ।
पक्राउ पर्नेहरूमा भारत नयाँदिल्ली ठेगाना भई काठमाडौं ठमेल बस्ने ५० वर्षीय कमल कान्त कुल्थि(या, सप्तरी राजविराज ठेगाना भई काठमाडौं नक्साल बस्ने ६७ वर्षीय निर्मल कुमार अग्रवाल र भारत राजस्थान ठेगाना भई काठमाडौं ताहाचल बस्ने ५५ वर्षीय किशन गोपाल रहेको प्रवक्ता कोइरालाले जानकारी दिए ।
प्रवक्ता कोइरालाका अनुसार उनीहरुले नेपाल राष्ट्र बैंकले जारी गरेको आदेश/निर्देशनविपरीत वित्तीय कारोबार (हुण्डी) गर्दै आएका छन् भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले नगद ३१ लाख ८१ हजार तीन सय ८५ रूपैयाँ र व्यक्ति तथा संस्थाको नाममा काटिएको बैंक चेकसहित फेला पारी उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ परेका तीनै जनालाई आवश्यक कानुनी कारबाहीको जिल्ला प्रहरी परिसर टेकु पठाइएको प्रवक्ता कोइरालाले जानकारी दिएका छन् ।
यसैगरी नक्कली करारनामा बनाई नगद चार करोड ५० लाख रुपैयाँ ठगी गरेको अभियोगमा पर्सा वीरगञ्ज महानगरपालिका–१७ घर भई सोही महानगरपालिका–१४ पिपरा बहुअरी बस्ने ३६ वर्षीय नौसद अन्सारीलाई बुधबार प्रहरीले पक्राउ गरिएको प्रवक्ता कोइरालाले जानकारी दिएका छन् । प्रवक्ता कोइरालाका अनुसार नौसद अन्सारी समेतले काठमाडौं महानगरपालिका–१३ सोल्टीमोडमा रहेको जाकिर हुसेन अन्सारी र नौसद हुसेन अन्सारीको नाममा रहेको जग्गा किर्ते हस्ताक्षर गरी नक्कली करारनामा बनाई घरेलु तथा साना उद्योग कार्यालय काठमाडौं र कम्पनी रजिष्ट्रारको कार्यालय काठमाडौंमा उक्त नक्कली करारनामा पेश गरी हिमालयन होटेल प्रालि नामक कम्पनी दर्ता गराई उक्त होटलमा लगानी गर्नको लागी भन्दै पटक–पटक गरी उक्त रुपैयाँमा ठगी गर्ने कार्यमा संलग्न उनलाई पर्सा वीरगञ्ज महानगरपालिका–८ प्रतिमाचोकबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका नौंसदलाई पनि आवश्यक कारबाहीको जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको प्रवक्ता कोइरालाले जानकारी दिए ।