काठमाडौँ । नेपाल धितोपत्र बोर्डद्वारा धितोपत्र निष्काशन तथा बाँडफाँट (छैठौँ संशोधन) निर्देशिका २०७९ लागू गरेको छ । बोर्डका अनुसार यही कात्तिक १७ गते बिहीबारबाट संशोधित निर्देशिका लागू भएको हो । यो व्यवस्था लागू भएपश्चात् संगठित संस्थाले सेयरको प्रारम्भिक सार्वजनिक निष्काशन गर्दा निष्काशित सेयरको १० प्रतिशत सेयर नेपाल सरकारको सम्बन्धित निकायहरुबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीका लागि छुट्याई बाँडफाँट गर्नुपर्नेछ ।
यसको लागि संगठित संस्थाले सर्वसाधारणको लागि छुट्याइएको सेयर निष्काशन तथा बिक्री प्रबन्धकले सर्वसाधारणको लागि निष्काशन गर्नुअगावै १५ दिनको अवधि तोकेर आह्वानपत्र प्रकाशित गर्नुपर्नेछ ।
बोर्डका अनुसार सेयर निष्काशनको लागि आवेदन दिँदा बोर्डबाट धितोपत्र खरिद दरखास्त संकलनसम्बन्धी कार्य गर्न अनुमतिप्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थामा रहेको विप्रेषण बचत खानामार्फत भुक्तानी गर्नुपर्नेछ । बोर्डका अनुसार विप्रेषण बचत खाता भन्नाले सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेश बसेर रोजगारी गरिरहेका नेपाली नागरिकको बोर्डबाट धितोपत्र खरिद दरखास्त संकलनसम्बन्धी कार्य गर्न अनुमतिप्राप्त आस्बा सदस्य बैंक वा वित्तीय संस्थामा सम्बन्धित व्यक्तिको नाउँमा खोलिएको रेमिट्यान्स बचत खातालाई सम्झिनुपर्नेछ । सो अनुसार रेमिट्यान्स बचत खातामा पछिल्लो छ महिनामा कम्तीमा ५० हजार नेपाली रुपैयाँ सम्बन्धित व्यक्तिले आफू रोजगार रहेको मुलुकबाट जम्मा गर्नुपर्नेछ ।
बोर्डका अनुसार यसरी वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुलाई सेयर बाँडफाँट गरेपश्चात् मात्र सर्वसाधारणको लागि प्रारम्भिक सेयर निष्काशन गर्नुपर्नेछ । तर निष्काशित सेयर बिक्री नभएको अवस्थामा भने त्यस्तो सेयर सर्वसाधारण समूहमा थप गरी जारी गर्नुपर्नेछ । बोर्डका अनुसार निक्षेप सदस्यले विदेश बसी रोजगार गरिरहेका नेपाली नागरिकका लागि हितग्राही खाता खोल्दा विद्युतीय माध्यमबाट समेत ग्राहक पहिचान विवरण रुजु गरी हितग्राही खाता खोल्न सक्नेछन् । विदेशमा बसी रोजगार गरिरहेका नेपाली नागरिकहरुका लागि बोर्डबाट धितोपत्र खरिद दरखास्त संकलनसम्बन्धी कार्य गर्न अनुमतिप्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरुले विद्युतीय माध्यमबाट सीआरएन नम्बर लिई आवेदन दिने व्यवस्था गर्नुपर्नेछ ।
बोर्डका अनुसार निष्काशित सेयरमा आवेदन दिएका विदेशमा बसी रोजगारी गरिरहेका नेपाली नागरिकले सर्वसाधारणमा छुट्याइएका साधारण सेयरमा आवेदन दिन पाउनेछैनन् ।