काठमाडौं । काठमाडौँस्थित स्वयम्भू क्षेत्रका कलाकारले कला क्षेत्रमा कार्यरत पेशाकर्मी कलाकारको हक, हित र पेशा सुरक्षित गर्न नीति तर्जुमा गर्नुपर्ने माग गरेका छन् ।
उनीहरुले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई ‘राष्ट्रिय कला संरक्षण तथा प्रवर्द्धन नीति २०७९’को मस्यौदा समेत पेश गरेका छन् । आर्टिष्ट एट स्वयम्भूले शनिबार आयोजना गरेको कार्यक्रममा संयोजक दिपेश प्रधानले सरकारी वा निजी क्षेत्रका केन्द्रीय कार्यालयमा नेपाली कलाकारले आफ्ना कलाकृति राख्न कानुनी व्यवस्था मिलाउनुपर्ने माग गर्दै मन्त्रीसमक्ष मस्यौदा प्रस्तुत गरेका हुन् । मस्यौदामा कलासम्बन्धी कानुनी व्यवस्था बनाई समय–समयमा सुधार तथा परिमार्जन गरी आवश्यकतानुसार नयाँ नीति निर्माण गर्न र कलाकृति खरिद–बिक्रीसम्बन्धी कानुन एवं प्रतिलिपि अधिकारसम्बन्धी नियम, कानुन निर्माण गर्न समेत सुझाव दिईएको छ । देशभित्र रहेका सम्पूर्ण समकालीन कालकारको कलाकृतिलाई उचित मूल्यांकन गर्नुका साथै कलाकृतिको वर्गीकरण गरी संरक्षणको व्यवस्था मिलाउनुपर्नेमा समेत मस्यौदामा जोड दिइएको छ ।
सोही अवसरमा मन्त्री श्रेष्ठले नेपाली कला क्षेत्रले देशको विकासमा पु-याएको योगदानको चर्चा गर्दै कला संस्कृतिको विकास र प्रवर्द्धनको निम्ति सरकार प्रतिबद्ध रहेको बताए । उनले राजनीतिक स्थिरताको निम्ति सत्तारुढ दलबीच चुनावी गठबन्धन गरिएको प्रस्ट पार्दै सुशासन कायम गर्नुका साथै देशको आर्थिक विकासका निम्ति गठबन्धनलाई मतदान गर्न कलाकारलाई अपिल समेत गरे । मन्त्री श्रेष्ठले कला क्षेत्रको विकासका निम्ति नीति बनाउने तयारी भइरहेको जानकारी समेत दिए ।