काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मुस्ताङमा रहेको प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ क्षेत्रमा निर्माण गरिएको बुद्धमूर्ति र ‘लो मुस्ताङ हिमालयन रिसोर्ट’ को उद्घाटन गरेकी छिन् । गैरआवासीय नेपाली संघका पूर्वउपाध्यक्ष सोनाम लामाको व्यक्तिगत लगानीमा मुक्तिनाथ क्षेत्रको विकासका लागि करोडौंको लगानीमा निर्माण भएको धार्मिक र पर्यटकीय पूर्वाधारको राष्ट्रपति भण्डारीले शुक्रबार उद्घाटन गरेकी हुन् ।
लो मुस्ताङ हिमालय रिसोर्टका सञ्चालक निमा डिकी लामाले यस क्षेत्रमा धार्मिक र पर्यटकहरुको वृद्धि गर्न मुस्ताङमा पूर्वाधार निर्माण अगाडि बढेको बताइन् । होटल सञ्चालक लामाले कालिगण्डकी करिडोरमा सडक तथा अन्य पूर्वाधार पुगेसँगै पर्यटक आगमन पनि बढ्दो भए पनि स्तरीय र होटल संरचनाको अभाव रहेकाले त्यहाँ स्तरीय होटल निर्माण गरिएको उल्लेख गरिन् । यस्तै सञ्चालक सोनाम लामाले मुक्तिनाथ क्षेत्रमा आउने स्वदेशी, विदेशी पर्यटक र विशिष्ट पाहुनाहरुलाई सुविधायुक्त होटल बनाउने उद्देश्यका साथ होटल सञ्चालनमा ल्याएको बताए । बुटिक अवधारणामा करिब सय रोपनीमा फैलिएको होटलबाट चारै दिशामा हिमाल अवलोकन गर्न सकिनेछ । निलगिरी धौलागिरिजस्ता मनमोहक हिमालको घेराभित्र रहेजस्तै देखिने सो होटलमा पर्यटकको सेवाका लागि साउना, स्पादेखि घोडाचढी सुविधा उपलब्ध हुनेछ । रानीपौवा हाइटमा रहेको होटल क्षेत्रमै करिब पाँच सय बोटको स्याउ फार्म पनि छ ।
यस्तै शुक्रबारै राष्ट्रपति भण्डारीले मुक्तिनाथ मन्दिर परिसरमा भगवान् विष्णुको प्रस्तर मूर्तिको शिलान्यास पनि गरिन् । उनले भगवान् विष्णुको मूर्ति निर्माणका लागि शिलान्याससँगै ३५ फिट अग्लो गौतमबुद्धको मूर्तिको अनावरण समेत गरेकी थिइन् । कार्यक्रममा राष्ट्रपति भण्डारीले मुक्तिनाथ क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न आग्रह गरिन् । विश्वमा बढ्दै गएको जलवायु परिवर्तनलाई ध्यानमा राख्दै मुक्तिनाथ क्षेत्रलाई पनि त्यहीअनुसार विकास गर्नुपर्ने उनको भनाइ थियो । यो क्षेत्रमा धार्मिक पर्यटकबाट भएको आम्दानी मुक्तिनाथ क्षेत्रका जनताको जीवनस्तर उकास्ने गरी पर्यटकीय पूर्वाधारमा लगानी गर्न समेत उनले आग्रह गरिन् । गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष डा. शेष घलेले मुक्तिनाथ क्षेत्रमा पर्यटन प्रवर्द्धनका लागि भइरहेको विकास निकै सुस्त भएकाले पर्यटक आकर्षित गर्न पर्यपटकीय पूर्वाधार निर्माणकार्यलाई तीव्रता दिन स्थानीय तथा सम्बन्धित निकायले विशेष जोड दिनुपर्ने औँल्याए ।
विष्णुको मूर्ति स्थापना र सम्बन्धित अन्य संरचना निर्माणका लागि नौ करोड रुपैयाँ लागत लाग्ने आकलन छ । जहाँ संघका पूर्वअध्यक्ष घलेले ५० लाख रुपैयाँ सहायता गरेका हुन् । मूर्ति पाटन औद्योगिक क्षेत्रमै निर्माण भइरहेको आयोजकले जनाएको छ । बुद्धको मूर्ति निर्माणमा करिब छ करोड रुपैयाँ लगानी भएको छ । धार्मिक र पर्यटकीय पूर्वाधार थपिएसँगै मुक्तिनाथ मन्दिरनजिकैको रानी पौवामा यी संरचनाहरु बनाइएको हो । समुद्र सतहबाट करिब तीन हजार सात सय १० मिटर उचाइमा रहेका बुद्धमूर्ति र रिसोर्टबाट ३६० डिग्रीमा चारैतर्फ हिमालको दुश्यावलोकन गर्न सकिन्छ । मुक्तिनाथ भगवान् विष्णुको जन्मस्थान रहेको भनाइ छ । स्कन्द पुराणमा उल्लेख भएअनुसार करिब आठ सय वर्षपहिले यहाँ साधुहरुले मन्दिर स्थापना गरेका थिए । हिन्दू र बौद्धमार्गीको साझा तीर्थस्थल रहेको मुक्तिनाथ क्षेत्रमा विभिन्न गुम्बाहरु पनि छन् ।
परम्परागत धार्मिक संरचनाको संरक्षण र सम्वर्द्धन गर्ने गरी मुक्तिनाथ विकास गुरुयोजना छ । सोही गुरुयोजनाको महत्वपूर्ण संरचना बुद्धमूर्तिको स्थापना र विष्णु भगवानको मूर्ति शिलान्यास गरिएको सोनामको भनाइ छ । मूर्र्ति आसपास क्षेत्रमा ध्यान योग तथा दृश्यावलोकनका लागि उपयुक्त हुने गरी पार्क तथा अन्य संरचना पनि बनाइएको उनले बताए । पाँच स्तूपा र ११ ढुंगेधारा पनि त्यहाँ बनेका छन् । सन् २०१३ देखि यो परियोजनामा जुटेका लामाले करिब छ करोड रुपैयाँ लगानीमा पूर्वाधार निर्माण गरेको बताए ।
मुक्तिनाथ मन्दिर नजिकैको रानी पौवामा यी संरचना बनेका छन् । समुद्र सतहबाट करिब तीन हजार सात सय मिटरको उचाइमा बनेका संरचना आसपासबाट तीन सय ६० डिग्रीमा चारैतर्फ हिमालको दृश्यावलोकन गर्न सकिन्छ । कालिगण्डकी करिडोरमा सडक तथा अन्य पूर्वाधार पुगेसँगै पर्यटक आगमन पनि बढ्दो छ । तर स्तरीय र होटल संरचनाको अभाव रहेकाले त्यहाँ स्तरीय होटल बनाइएको हो । काठमाडौंको ठमेलमा सय शय्या क्षमताको होटल लो मुस्ताङ पनि सञ्चालनमा ल्याउने अन्तिम तयारी भइरहेको लामाले जानकारी दिए ।