काठमाण्डौं,फागुन २२
प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार नेपालकै त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा नेपाली डाक्टरहरुको टोलीले मिर्गौला प्रत्यारोपण गरेका छन् । बिहान १०ः०० बजे शल्यक्रिया कक्षमा लगिएका प्रधानमन्त्री ओलीको मिर्गाैला प्रत्यारोपण दिउँसो ३ः०० बजे सकिएको थियो । प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणको विषयलाई लिएर विभिन्न अनुमान र अड्कल काटिए पनि ती सबै झूठ साबित भएका छन् । अस्पतालमा भर्ना हुन जानुअगाडि सोमबार प्रधानमन्त्रीले आफू अलप नहुने भिडियो सन्देश दिएका थिए । अस्पतालमा शुभेच्छुकले प्रधानमन्त्री ओलीको तस्बिर र राष्ट्रिय झण्डा अङ्कित ब्यानर र पोष्टरमा ‘गेट वेल सुन’ लेखेर स्वास्थ्यलाभको कामना गरेका थिए ।प्रधानमन्त्रीको दोस्रो मिर्गौला प्रत्यारोपणले नेपालको अस्पताल चिकित्सक टोली विशिष्ट व्यक्तिको जटिल शल्यक्रिया गर्न÷गराउन सक्षम रहेको भन्ने स्पष्ट सन्देश दिएको छ । प्रधानमन्त्री ओलीको स्वास्थ्यस्थिति स्थिर रहेको र प्रत्यारोपित मिर्गाैलाले काम गर्न थालिसकेको अस्पतालले जनाएको छ । बुधबार नै उनलाई शल्यक्रिया कक्षबाट प्रत्यारोपण उपचार कक्षमा राखी उपचारलाई निरन्तरता दिइएको अस्पतालका कार्यकारी निर्देशक प्राडा प्रेमकृष्ण खड्गाले विज्ञप्तिमार्फत जानकारी दिएका छन् । कार्यकारी निर्देशक प्राडा खड्गाले मिर्गौलाको शल्यक्रियापछि सङ्क्रमणबाट जोगाउनका लागि आइसोलेसन (एकान्त)मा राखिएको जनाएका छन् ।
प्रधानमन्त्री ओली पाँच÷छ दिन अस्पतालमा रहने र १०–१५ दिनपछि नियमित काम गर्नसक्ने डा. खड्गाले बताएको राससले जनाएको छ । हाल मिर्गौला प्रत्यारोपण गर्ने टोलीबाहेक अरुलाई ५–६ दिनसम्म भेट्न दिइनेछैन । प्रधानमन्त्री ओलीको मिर्गाैला शल्यचिकित्सा टोलीमा उपचार टोलीमा शल्यक्रिया टोलीमा प्राडा उत्तमकुमार शर्मा, प्राडा प्रेम ज्ञवाली, प्राडा आनन्द कुमार, डा. पवनराज चालिसे, डा. सुमन चापागाईं, डा. सुजित पौडेल तथा मिर्गाैला प्रत्यारोपण चिकित्सा टोलीमा प्राडा दिव्या शाह, डा. महेश सिग्देल, डा. मुकुन्द काफ्ले, डा. मिधन श्रेष्ठ, डा. रविन नेपाली र डा. सन्तोष क्षेत्री थिए । एनेस्थेसिया तथा क्रिटिकल केयरतर्फ डा. अनिल श्रेष्ठ, प्राडा सुवास आचार्य, डा अमित शर्मा भट्टराई र डा. विगेनमान शाक्य छन् । प्रधानमन्त्री ओलीलाई मिर्गाैला दान गर्ने उनकी भान्जी समीक्षा सङ्ग्रौलाको स्वास्थ्य अवस्था सामान्य रहेको पनि अस्पतालले जनाएको छ । मिर्गौला प्रत्यारोपणअघि प्रधानमन्त्रीको मङ्गलबार विभिन्न विषयका विशेषज्ञबाट स्वास्थ्य परीक्षण गरेका थिए । यसअघि प्रधानमन्त्री ओलीको वि.सं. २०६४ साउनमा भारतमा मिर्गाैला प्रत्यारोपण गरिएको थियो ।