काठमाडौं । उद्योग वाणिज्य महासंघ प्रदेश १ ले उद्योग प्रतिष्ठानभित्र हुनसक्ने हिंसा र दुर्व्यवहार रोक्न उद्योगी व्यवसायीहरूलाई आग्रह गरेको छ । महासंघले सुनसरी मोरङ औद्योगिक करिडोरका औद्योगिक क्षेत्रका ठूला उद्योग प्रतिष्ठान, व्यावसायिक फर्म र रोजगारदाता एवं स्वरोजगार व्यवसायका सञ्चालक र त्यहाँका कर्मचारीहरूलाई हिंसा र दुर्व्यवहार रोक्न जानकारीमूलक प्रशिक्षण समेत दिएको छ ।
अन्तर्राष्ट्रिय श्रम संगठन नेपालको आर्थिक सहयोग एवं नेपाल उद्योग वाणिज्य महासंघ काठमाडौंसँगको सहकार्यमा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ ले प्रदेश राजधानी विराटनगरमा आयोजना गरेको गोष्ठीमा उद्योग परिसरको कार्यस्थलमा हुने हिंसा तथा यौनजन्य दुर्व्यवहारविरुद्ध उद्योग प्रतिष्ठानहरूले पालना गर्नुपर्ने आचारसंहिताका बारेमा पनि जानकारी गराइएको छ ।
कार्यक्रमका अवसरमा महासंघका केन्द्रीय सदस्य एवं उद्योगी डा. अविनाश बोहराले कार्यस्थलमा हुने हिंसाका घटना रोक्नका लागि त्यस्ता घटनामा हुनसक्ने सहनशीलतालाई शून्यमा लैजानुपर्नेमा जोड दिए । उनले उद्योगधन्दाभित्र हुने हिंसा एवं यौनजन्य दुर्व्यवहारको परिणाम कर्मचारी तथा श्रमिकहरूमा हुने श्रम मनस्थिति नै बिग्रिएर जानेतर्फ आफूहरू सचेत रहनुपर्ने सुझाव दिए ।
महासंघका सहायक निर्देशक हरि पौडेलले आईएलओ महासन्धि र लैंगिक हिंसा निवारण ऐनबमोजिम हिंसा तथा दुर्व्यहारविरुद्धको कानुनी व्यवस्था र सजाय हुने अवस्थाबारे जानकारी गराएका थिए । उनले शारीरिक, गैरमौखिक र मौखिकरूपमा हुनसक्ने हिंसाले काममा पु-याउने प्रतिकूल वातावरणविरुद्ध सबै क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा सहभागी भएका उद्योग प्रतिष्ठानका कर्मचारीलगायतका सहभागीहरूले आफू कार्यरत वा सञ्चालन गरेका उद्योग व्यवसाय, कम्पनी तथा फर्मभित्र हुनसक्ने हिंसाकाविरुद्ध कार्ययोजना बनाएर त्यसको पालना गर्ने प्रतिबद्धता जनाएको उद्योग वाणिज्य महासंघ प्रदेश १ ले जनाएको छ ।