दोलखा, फागुन २२
दोलखाको बैतेश्वर गाउँपालिकामा १५ शय्याको अस्पताल बन्ने भएको छ । संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बैतेश्वर गाउँपालिकाभित्रका नागरिकको स्वास्थ्यलाई ध्यानमा राखेर सबैलाई स्वास्थ्यको पहुँच दिने उद्देश्यले एकैपटक सयौं जनाको उपचार गर्न मिल्ने सुविधासम्पन्न सरकारी अस्पताल निर्माण गरिदिने भएको गाउँपालिकाका अध्यक्ष छवि लामाले जानकारी दिए ।पालिकाभित्र सुविधासम्पन्न सरकारी अस्पताल नहुँदा सो ठाउँका बासिन्दाले निजी अस्पतालमा महंगो शुल्क तिरेर उपचार गर्दै आएका छन् । अब पालिकामा बन्ने १५ शय्याको अस्पतालबाट निःशुल्क सुविधा पाउने अध्यक्ष लामाले आर्थिक दैनिकलाई जानकारी दिए । करिब ३५ हजार जनसंख्या रहेको यस पालिकामा यस्तो किसिमको अस्पताल हालसम्म छैन । पालिकामा सरकारी अस्पताल नहुँदा महगो शुक्ल तिरेर अन्यत्र उपचार गर्न जानुपर्ने बाध्यता हट्ने पालिकाका उपाध्यक्ष रविचन्द्र आचार्यले बताए ।
नेपाल सरकारले दोलखाका दुई स्थानीय तह बैतेश्वर र बिगुलाई छनोट गरेर १५ शय्याका दुईवटा सुविधासम्पन्न सरकारी अस्पताल निर्माण गर्नेछ । बैतेश्वरले गाँउपालिकाले भने नयाँ बनाउने या मैनापोखरीमा दातृनिकायले बनाएको १५ शय्या क्षमताको हिमालयन केयर हेन्स अस्पताललाई स्तरोन्नति गरी परिवर्तित नाममा चलाउने भन्नेबारे गाउँ कार्यपालिकाका सदस्यबीचमा छलफल गरेर टुंगो लगाउने जनाएको छ ।
आठवटा वडा रहेको पालिकामा चालू वर्षमा प्रदेश सरकारको बजेटबाट अन्य दुई वटा वडा स्वास्थ्यचौकी भवन निर्माण हुने प्रक्रियामा रहेको गाउँपालिकाले जनाएको छ । प्रदेश सरकारको ३८÷३८ लाख रुपैयाँ बजेटमा गाउँपालिकाको वडा नम्बर २ गैरिमुदी र वडा नम्बर ७ को मार्बुमा स्वस्थ्य चौकी भवन निर्माण हुने प्रक्रियामा रहेको पालिकाले जनाएको छ ।