काठमाण्डौं,फागुन २२
नेपालको लागि टीभीएस मोटर कम्पनीको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले यस वर्षको ईपीएल २०२० को लागि टाइटल प्रायोजन गरेको छ । टाइटल प्रायोजन गरेसँगै अब ईपीएल टीभीएस ईपीएल २०२० भएको छ । ईपीएल नेपालको फ्रेन्चाइज क्रिकेटहरुमध्ये सर्वाधिक लोकप्रिय प्रतियोगिता बन्न सफल भइसकेको छ । राष्ट्रिय साथै अन्तर्राष्ट्रिय स्तरका समेत लोकप्रिय क्रिकेट खेलाडीहरुको उत्कृष्ट भीडन्त हेर्न पाइने यो प्रतियोगिता मार्च १४ देखि मार्च २८ सम्म कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुँदै छ । नेपालका क्रिकेट प्रेमीहरुले अत्यन्त उत्सकुताका साथ प्रतीक्षा गरिरहेको उक्त ईपीएल २०२० को टाइटल प्रायोजन गर्ने सम्बन्धमा नेपालका आधिकारिक वितरक जगदम्बा मोटर्सको तर्फबाट साहिल अग्रवाल र ईपीएलको तर्फबाट आमिर अख्तरले सम्झौता पत्रमा बुधबार एक समारोहबीच हस्ताक्षर गरेका हुन् ।
नेपालमा अत्यन्त लोकप्रिय रहँदै आएको टीभीएस ब्राण्डले नेपालको विभिन्न खेलकुद क्षेत्रमा पनि आफ्नो सहभागीता जनाउँदै आएको बताएको छ । टीभीएसले निरन्तर रुपमा आफ्ना ग्राहकहरुलाई पैसाको उत्कृष्ट मुल्य र सेवाहरु पाँच वर्षको वारेन्टी, स्थलगत एक्स्चेञ्ज, स्थलगत फाइनान्स र अन्य धेरै सुविधा प्रदान गर्दै आएको जनााएको छ । देशभर १०० भन्दा बढी डिलरहरुको सञ्जाल मार्फत् आफ्ना ग्राहकहरुलाई विशिष्ट सेवा प्रदान गर्न टीभीएसले आफ्ना दक्ष र तालिम प्राप्त जनशक्ति परिचालन गर्दै आएको छ ।