अमेरिका । अर्बपति तथा अमेजनका संस्थापक जेफ बेजोसले आफ्नो कुलमध्ये अधिकजसो सम्पत्ति दान गर्ने योजनाबारे बताएका छन् । सीएनएनसँग गत शनिबार अन्तर्वार्ता दिँदै उनले अधिकांश सम्पत्ति दान गर्ने योजना बनाएको खुलाएका हुन् । जलवायु परिवर्तनसँग जुध्न र सामाजिक एकीकरणकर्तालाई सहयोग गर्न सम्पत्ति दान गर्ने उनको योजना छ ।
उनीसँग हाल १ खर्ब २४ अर्ब अमेरिकी डलर सम्पत्ति रहेको ब्लुमबर्ग अर्बपति सूचकांकले देखाएको छ । अमेरिकी राजनीतिमा हुने विभाजनविरुद्ध लड्ने जो कोहीप्रति आफू दयालु हुने पनि उनले बताएका छन् । यद्यपि उनले कति सम्पत्ति दान गर्ने केही बताएका छैनन् ।
यसअघि नै बेजोस र उनकी साथी लाउरेन सान्चेजले पप कलाकार डली पार्टनलाई १० करोड डलर दानमा खर्च गर्न सहयोग गरेका थिए । सन् २०२१ मा त्यस्तै खाले दान सीएनएनका भान जोन्स र सेफ जोसे आन्द्रेलाई पनि गरेका थिए ।