निर्वाचन आयोगले आइतबार देशैभर भएको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन केही सामान्य घटनाबाहेक शान्तिपूर्ण र उत्साहजनकरूपमा सम्पन्न भएको जनाएको छ । मतदान सम्पन्न भएलगत्तै पत्रकार सम्मेलन गरेको आयोगले प्रारम्भिक विवरण सार्वजनिक गर्दै करिब ६१ प्रतिशत मतदान भएको देखिएको जनाएको हो । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आयोगले गरेको अपेक्षाभन्दा न्यून मतदान भएको बताए ।
‘मतदानको विवरण आयोगको सूचना प्रणालीमा प्रविष्टि हुने क्रम जारी छ’, उनले भने, ‘हालसम्मको प्रारम्भिक विवरण अनुसार करिब ६१ प्रतिशत मतदान भएको देखिएको छ । यो निर्वाचन आयोगले गरेको अपेक्षाभन्दा न्यून हो ।’ उनले केही जिल्लाका मतदान केन्द्रमा विविध कारणवश केही समय मतदान कार्य रोकिएकोमा राजनीतिक दल तथा उम्मेदवार र निर्वाचन प्रतिनिधिहरूसँगको छलफलपछि पुनः सुचारू भएको बताए । सो क्रममा राजनीतिक दल तथा उम्मेदवारका निर्वाचन प्रतिनिधिको संयमता र सौहार्दताका लागि उनले धन्यवाद पनि व्यक्त गरे ।
१५ स्थानमा मतदान स्थगित
यसैबीच, आइतबार देशैभर १५ मतदान स्थलमा भने मतदान स्थगित भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार नवलपरासी पूर्वको देवचुली नगरपालिका वडा नं. ४ को शान्ति सिर्जना आधारभूत विद्यालय, सुर्खेत जिल्लाको सिम्ता गाउँ पालिका वडा नं. ६ सिम्ता बहुमुखी क्याम्पस, गुल्मी जिल्लाको कालीगण्डकी गन्या भगवती मावि अर्वेनी र बाजुरा जिल्लाको बुढीनन्दा नगरपालिका नन्देश्वरी मावि पिपलचौर लगायत अन्य ८ स्थानसमेत गरी कुल १५ मतदान स्थलमा मतदान स्थगन भएको छ ।
‘स्थगन भएका मतदान केन्द्रमा आवश्यक तयारी गरी दुई दिनभित्र पुनः मतदान गराउने निर्णय गर्न उपयुक्त प्रबन्ध मिलाइनेछ’, प्रमुख निर्वाचन आयुक्त थपलियाले भने ।निर्वाचनको सिलसिलामा निर्वाचन सामग्रीको प्रयोगमा बाधा पु¥याउने, मतपत्रको दुरुपयोग गर्ने, मतदानको प्रक्रिया उल्लंघन गर्ने, मतेपटिकामा अन्य वस्तु खसाल्ने, पटक पटक मतदान गर्न खोज्ने, मतपत्र नष्ट गर्ने, मतदान स्थल कब्जा गर्ने लगायतका कार्यमा संलग्न जोसुकैलाई (निर्वाचन कसुर तथा सजय) ऐन २०७३ बमोजिम तत्काल कारबाही प्रारम्भ गर्न निर्देशन दिइएको पनि उनले बताए ।
‘मतदानका क्रममा कतिपय मतदान केन्द्रमा कर्मचारी र मतदाताको असावधानीका कारण प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको केही मतपत्र तोकिएको मतपेटिकामा नखसी अर्काे मतपेटिकामा खसेको भन्ने गुनासो आएको छ’, उनले भने, ‘मतपेटिकामा रहेका ती सबै मतपत्रलाई मतगणनाका समयमा जनताको अभिमत खेर जान नदिने गरी राजनीतिक दल, उम्मेदवार र निर्वाचन प्रतिनिधिको छलफलका आधारमा जुन तहका लागि खसेको मत हो सोही तहतर्फ गणना गर्ने गरी प्रबन्ध मिलाइएको छ ।’
मतगणनाका सन्दर्भमा उत्पन्न हुन सक्ने विवाद वा अस्पष्टतालाई स्थानीयरूपमै छलफल गरी समाधान गर्न मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरूलाई जिम्मेवार तुल्याइनेछ । मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतबाट सोधनी भएका विषयमा आयोगले तत्काल तत्काल सम्बोधन गर्ने आयोगले जनाएको छ ।
कहिले हुन्छ मतगणना ?
मतदान सम्पन्न भएका सबै मतदानस्थलबाट आइतबार साँझदेखि नै मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा ढुवानीको भइरहेको छ । मतपेटिका मतगणना स्थलमा ल्याइसकेपछि दलीय सहमति जुटाई काठमाडौँ उपत्यकालगायतका क्षेत्रमा आज रातिदेखि नै मतगणना सुरू गर्ने र अन्य स्थानमा मतपेटिका सुरक्षित साथ संकलन भएपछि तत्काल मतगणना प्रारम्भ गर्न निर्देशन दिइएको आयोगले जनाएको छ । जिल्ला सुरक्षा समितिको सिफारिस बमोजिम सातवटा हिमाली जिल्लाका अति विकट मतदान केन्द्रका मतपेटिकाहरू नेपाली सेनाको हेलिकप्टर प्रयोग गरी मौसमले साथ दिएमा भोलि अपराह्न ४ बजेभित्र सदरमुकामस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयसम्म ढुवानी गर्ने योजना छ ।
बाजुरामा १ जनाको मृत्यु
निर्वाचन आयोगले निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको बताए पनि मतदानका क्रममा बाजुरा जिल्लामा दोहोरो झडप हुँदा एक जनाको मृत्यु भएको छ । त्यसबाहेक अन्य केही स्थानमा केही मानिस घाइते भएको भन्दै आयोगले घटनाप्रति दुःख व्यक्त गरेको छ ।
‘मृतकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको स्वास्थ्य उपचारको आवश्यक व्यवस्था गर्न आयोग नेपाल सरकारको ध्यानाकर्षण गराउँदछ’, आयुक्त थपलियाले भने । त्यस्तै आयोगले निर्वाचन सम्पन्न गराउन सघाउने सबैप्रति आभार व्यक्त गरेको छ ।
आयोगले भनेको छ, ‘निर्वाचन सम्पन्न गराउने ऐतिहासिक कार्यमा भूमिका निर्वाह गर्ने नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, निर्वाचन अधिकृत, स्थानीय प्रशासन, निर्वाचनमा संलग्न कर्मचारी तथा सुरक्षाकर्मी, राजनीतिक दल, उम्मेदवार, मतदाता, पर्यवेक्षक, अन्तर्राष्ट्रिय समुदाय, सञ्चारमाध्यम, निजी क्षेत्रलगायत सबै क्षेत्र र समुदायप्रति निर्वाचन आयोग हार्दिक आभार व्यक्त गर्दछ ।’
आइतबार एकै चरणमा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन गरिएको हो । बिहान ७ बजेदेखि नै मतदान सुरु भएको थियो । १ करोड ७९ लाख ८८ हजार पाँच सय ७० कुल मतदाता रहेका थिए । त्यसको ६१ प्रतिशत मात्रै मत खसेको हो ।
मतदाताले १० हजार आठ सय ९२ मतदान स्थलमा गएर २२ हजार दुई सय २७ मतदान केन्द्रबाट मताधिकार प्रयोग गरेका थिए । निर्वाचनका लागि एक सय ४१ अस्थायी मतदान केन्द्र र आफूलाई पायक पर्ने तथा आफू खटिएका मतदान केन्द्रबाट करिब ४ लाख ५० हजार अस्थायी मतदाताले प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्न पाउने व्यवस्था मिलाइएको थियो ।
यो निर्वाचनमा प्रतिनिधि सभातर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि दुई हजार चार सय १२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए । यसैगरी प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ दुई हजार एक सय ९९ उम्मेदवारको नाम अन्तिम बन्द सूचीमा कायम गरिएको थियो ।
प्रदेश सभातर्फ पहिलो हुने निर्वाचिन हुने निर्वाचन प्रणालीका लागि तीन हजार दुई सय २४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए भने प्रदेशसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ तीन हजार सात सय आठ जना उम्मेदवारको नाम अन्तिम बन्द सूचीमा कायम छ । निर्वाचनमा प्रतिनिधि तथा प्रदेश सभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि कुल ५ हजार छ सय ३६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए भने भने प्रतिनिधि तथा प्रदेश सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ पाँच हजार नौ सय सात उम्मेदवारको नाम अन्तिम बन्द सूचीमा कायम गरिएको छ ।
प्रत्यक्ष र समानुपातिकर्फको मत एकैसाथ गणना
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणना गर्दा प्रत्यक्ष र समानुपातिकर्फको मतलाई एकै पटक चार स्थानमा गणना गर्न निर्देशन दिएको छ ।
मतदानका क्रममा कतिपय मतदान केन्द्रमा कर्मचारी र मतदाताको असावधानीका कारण प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको केही मतपत्र तोकिएको मतपेटिकामा नखसी अर्काे मतपेटिकामा खसेको भन्ने गुनासो आएपछि मतगणनाका लागि उक्त निर्देशन दिएको हो । यसरी गणना गर्दा आठ दिनभित्र परिणामबाहिर ल्याउने आयोगको योजना रहेको छ ।
आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदान सम्पन्न भएका सबै मतदानस्थलबाट आज साँझदेखि नै मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा ढुवानी भइरहेको र मतपेटिका मतगणनास्थलमा ल्याइसकेपछि दलीय सहमति जुटाई काठमाडौँ उपत्यकालगायतका क्षेत्रमा आइतबार रातिदेखि नै मतगणना सुरु गर्ने बताए ।
दुर्गम स्थानमा मतपेटिका सुरक्षित साथ संकलनका लागि हेलिकोप्टरसमेत प्रयोग गरिनेछ । संकलन भएपछि तत्काल मतगणना प्रारम्भ गर्न आयोगले निर्देशन दिएको छ । आजको मतदानमा १५ मतदानस्थलमा मतदान स्थगन भएको छ ।
मतदानमार्फत लोकतन्त्रप्रतिको अगाध र अविचलित आस्था अभिव्यक्त : प्रधानमन्त्री देउवा
प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा भएको उत्साहपूर्ण सहभागिताले नेपाली नागरिकका मनमा रहेको लोकतन्त्रप्रतिको अगाध र अविचलित आस्था अभिव्यक्त भएको बताएका छन् ।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि आइतबार सम्पन्न मतदानमा देशभर अत्यन्त उत्साहपूर्ण रुपमा मतदान भएको बताउँदै प्रधानमन्त्री देउवाले यो आमनिर्वाचनमा तपाईंहरुले आफ्नो नागरिक अधिकारको प्रयोग गरिहँदा दशकौँदेखिको लोकतन्त्रप्रतिको साधना र समर्पण फेरि एकपटक उजागर भएको बताए । ‘मतदानमा भएका यो उत्साहपूर्ण सहभागिताले नेपाली नागरिकका मनमा रहेको लोकतन्त्रप्रतिका अगाध र अविचलित आस्था अभिव्यक्त भएको छ’, उनले भने, ‘संविधानसभाबाट संविधान जारी भएपछिका दिनमा संविधानको रक्षा र लोकतानित्रक पद्धतिको विकासका लागि आम नेपालीले जिम्मेवारीपूर्वक आफना भूमिका निर्वाह गर्दै आएका छन् ।’
यस्तै उनले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा निष्पक्ष र धाँधलीरहित र उत्साहपूर्ण रुपमा सम्पन्न भएको निर्वाचन गराउन सफल भएकोमा मतदातालाई धन्यवाद दिएका छन् ।‘आवधिक निर्वाचन लोकतन्त्रको अनिवार्य शर्त हो । यो निर्वाचनबाट आउने परिणामले मुलुकलाई स्वाधीन, स्वाभिमानी र समुन्नत बनाउँदै लोकतान्त्रिक संस्कार र संस्कृतिमा आधारित समतामूलक समाज निर्माणमा सहयोग गर्नेछ भन्ने विश्वास लिएको छु’, उनले भने, ‘निर्वाचनमा अत्यन्त उत्साह, संयम र धैर्यका साथ सरिक भई अमूल्य मत खसाल्नुभएकोमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइप्रति हार्दिक आभार एवं कृतज्ञता व्यक्त गर्दछु ।
निर्वाचनमा तपाईंहरुको सक्रियता र उत्साहपूर्ण सहभागिताका साथ अमूल्य मत खसाल्नुभएकोमा सरकार र राजनीतिक दलहरुलाई थप प्रेरणा दिएको छ । साथै, संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ र संस्थागत गर्न ठूलो योगदान पु¥याएको छ ।’साथै, उनले निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएकोमा निर्वाचन आयोगलाई विशेष धन्यवाद व्यक्त गर्दै निर्वाचन सफल गराउन अहोरात्र खटिएका राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय, राजनीतिक दल, सञ्चारकर्मी र पर्यवेक्षकहरुमा धन्यवाद तथा आभार व्यक्त गरेका छन् ।