काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ अन्तर्गत पाँच जिल्लाको सडक यातायात सुविधा पहुँच नभएका स्थलबाट मतपेटिका तथा निर्वाचन सामग्री सम्बन्धित जिल्ला सदरमुकाम (मतगणनास्थल) ल्याउन नेपाली सेनाको हेलिकोप्टर प्रयोग गरेको छ ।
आयोगले नेपाली सेनाको युद्ध कार्य निर्देशनालय, युद्ध कार्य विभाग, जंगी अड्डा, भद्रकालीलाई पत्राचार गरी उपयुक्त हवाइ साधनबाट मतपेटिका ढुवानी गर्न जिम्मेवारी दिएको थियो ।
हुम्ला जिल्लाको अदानचुली गाउँपालिका, चंखेली गाउँपालिका, ताँजाकोट गाउँपालिका र सर्केगाड गाउँपालिकाका गरी ३४ वटा मतदान केन्द्रका मतपेटिका तथा निर्वाचन सामग्रीहरू जिल्ला सदरमुकाम सर्केगाड बजार ल्याउन, सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिकाका नौवटा मतदान केन्द्रका मतपेटिका तथा निर्वाचन सामग्री जिल्ला सदरमुकाम नाम्चे ल्याउन, बझाङ जिल्लाको साइपाल गाउँपालिकाको तीनवटा मतदान केन्द्रका मतपेटिका तथा निर्वाचन सामग्री एकांकुरी डाँडा ल्याउन, गोरखा जिल्लाको चुमनुम्री गाउँपालिकाका २२ मतदान केन्द्रका मतपेटिका तथा निर्वाचन सामग्री जिल्ला सदरमुकाम गोरखाबजार ल्याउन हेलिकोप्टर प्रयोग गरेको
छ ।
त्यसैगरी मनाङ जिल्लाको नार्पाभूमि गाउँपालिकाको पाँच मतदान केन्द्रका मतपेटिका तथा निर्वाचन सामग्री जिल्ला सदरमुकाम चामे ल्याउन, संखुवासभा जिल्लाको भोटखोला गाउँपालिकाको चार मतदान केन्द्रका मतपेटिका तथा निर्वाचन सामग्री सदरमुकाम खाँदबारी ल्याउन निर्वाचन आयोगले हेलिकोप्टर प्रयोग गरेको हो ।