हङकङ । भर्खरै कम्पनीमा नियुक्त भएका कामदारलाई संसारकै ठूलो आईफोन फ्याक्ट्रीले पैसा दिएर विदा लिन आग्रह गरेको छ । सीएनएनका अनुसार फक्सकोनले ती कामदारलाई १० हजार युआन अर्थात् एक हजार चार सय अमेरिकी डलर लिएर कम्पनी छोड्न आग्रह गरेको हो ।
मध्य चीनमा रहेको कम्पनीको परिसरमा सयौँ विरोध प्रदर्शन तथा सुरक्षाकर्मीसँग झडप भएपछि कम्पनीले यस्तो अफर गरेको बताइएको छ । झेंग्झोउमा रहेको क्याम्पसमा हिंसात्मक प्रदर्शन भएपछि बुधबार एप्पल आपूर्तिकर्ताले यस्तो अफर गरेको थियो । झेंग्झोउ हेनान प्रान्तको राजधानी हो ।
कम्पनीले टेक्स्ट सन्देशमार्फत प्रदर्शनकारी कामदारलाई पैसा दिएर विदा हुन भनेको थियो । सन्देशमा यदि फक्सकोन छाड्ने भए ८ हजार युआन दिने वाचा गरेको छ । त्यसमा दुई हजार युआन थपेर यात्राखर्च समेत दिने उल्लेख छ ।
मंगलबार राति कम्पनीका नयाँ रोजगार भुक्तानी प्याकेज, आवासीय प्रबन्ध र कोभिड कडाइलाई लिएर विरोध भएको थियो । बुधबार उक्त विरोध प्रदर्शन हिंसात्मक भएको थियो ।