काठमाडौं । वाणिज्य बैंकहरु वित्तीयरुपमा सबल बन्दै जाँदा यी बैंकहरुको कुल चुक्ता पुँजी तीन खर्ब ५० अर्ब नाघेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको यही असोज मसान्तसम्ममा सञ्चालनमा रहेका २६ वटा वाणिज्य बैंकहरुले कुल तीन खर्ब ५६ अर्ब नौ करोड ५० लाख रुपैयाँ चुक्ता पुँजी कायम गरेका हुन् ।
बैंकिङ क्षेत्रले यो चुक्ता पुँजी कायम गर्दा सबैभन्दा बढी चुक्ता पुँजी भने ग्लोबल आईएमई बैंकको देखिएको छ । चालू आवको असोज मसान्तसम्ममा ग्लोबल आईएमईको चुक्ता पुँजी २३ अर्ब ७९ करोड ५७ लाख ५३ हजार रुपैयाँ पुगेको छ । ग्लोबलले पछिल्लोपटक बैंक अफ काठमाण्डूंलाई मर्जर गर्ने सहमति गरिसकेको छ । सो अनुसार बन्ने ग्लोबल आईएमई बीओके लिमिटेडको चुक्ता पुँजी ३५ अर्ब ७७ करोड रुपैयाँ पुग्नेछ । जुन नेपाली बैंकिङ क्षेत्रमा सबैभन्दा बढी चुक्ता पुँजी हो ।
चालू आवको असोज मसान्तसम्मको वित्तीय विवरणलाई आधार मान्दा नबिल बैंक भने चुक्ता पुँजीको हिसाबमा दोस्रो स्थानमा छ । केही महिनाअघि मात्र नेपाल बंगलादेश बैंकलाई आफूमा गाभेको नबिलको चुक्ता पुँजी हाल २२ अर्ब ८३ करोड २९ लाख नौ हजार रुपैयाँ पुगेको छ । नेपाल इन्भेष्टमेन्ट बैंक, कृषि विकास बैंक, एनएमबी बैंक र प्राइम कमर्सियल बैंकको चुक्ता पुँजी भने चालू आवको पछिल्लो अवधिमा १८ अर्ब रुपैयाँको हाराहारीमा रहेको छ ।
चालू आवको असोज मसान्तसम्ममा मेगा बैंकले १६ अर्ब १२ करोड रुपैयाँको हाराहारीमा चुक्ता पुँजी कायम गर्दा नेपाल बैंक, कुमारी बैंक, राष्ट्रिय वाणिज्य बैंक र सिटिजन्स बैंक इन्टरनेशनलको चुक्ता पुँजी भने १४ अर्ब रुपैयाँको हाराहारीमा रहेका छन् । यीबाहेकका हिमालयन, सिद्धार्थ र प्रभु बैंकको चुक्ता पुँजी भने पछिल्लो अवधिमा १२ अर्ब रुपैयाँको हाराहारीमा रहेको छ । २०७९ असोज मसान्तसम्ममा ११ अर्ब रुपैयाँको हाराहारीमा चुक्ता पुँजी हुने बैंकहरुमा भने एनआईसी एसिया बैंक, लक्ष्मी बैंक, नेपाल क्रेडिट एण्ड कमर्स बैंक र सानिमा बैंक परेका छन् । सनराइज, माछापुच्छ्रे र बैंक अफ काठमाण्डूंको चुक्ता पुँजी यही असोज मसान्तसम्ममा १० अर्ब रुपैयाँको हाराहारीमा रहेको छ । १० अर्ब रुपैयाँभन्दा कम चुक्ता पुँजी हुने बैंकहरुमा भने नेपाल एसबीआई बैंक, सिभिल बैंक, एभरेष्ट बैंक, सेञ्चुरी कमर्सियल बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंक छन् । चालू आवको असोज मसान्तसम्ममा यी बैंकहरुको चुक्ता पुँजी नौ अर्ब रुपैयाँको हाराहारीमा छ ।
