काठमाडौं । यस साता सेयर बजार परिसूचक एक हजार नौ सय ३३ दशमलव ५५ विन्दुमा कायम रहेको छ । यसैगरी क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन सय ८० दशमलव ९२ विन्दुमा सीमित हुन पुगेको छ ।
यससाता धितोपत्र बजारमा दुई सय ३२ वटा कम्पनीहरूको सेयर कारोबार भएका छन् । जसअनुसार ६० हजार छ सय १४ पटकको कारोबारमा ९१ लाख ७२ हजार चार सय ३८ कित्ता सेयर खरिदबिक्री हुँदा कुल कारोबार रकम तीन अर्ब ३० करोड तीन लाख ५३ हजार पाँच सय ११ रूपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा झण्डै दुई अर्ब रूपैयाँले कम हो ।
गत साता भने धितोपत्र बजारमा दुई सय ३२ वटा कम्पनीहरूको सेयर कारोबार भएका थियो । जसअनुसार एक लाख पाँच सय १४ पटकको कारोबारमा एक करोड ४१ लाख पाँच हजार सात सय ५७ कित्ता सेयर खरिदबिक्री हुँदा कुल कारोबार रकम पाँच अर्ब ३१ करोड ९५ लाख ९८ हजार छ सय ३१ रूपैयाँ पुगेको थियो । यस साता नेप्सेको नियमित कारोबार कक्ष सातामा तीन कार्यदिन मात्र खुला रहेको थियो । जसमध्ये पहिलो र दोस्रो दिन सार्वजनिक बिदा परेका कारण नेप्सेको नियमित कारोबार कक्ष बन्द रहेको थियो भने तेस्रो र चौथो कारोबार दिन बजार परिसूचक ओरालो लागेको थियो । पाँचौँ कारोबार दिन भने बजार परिसूचक उकालो लागेको थियो ।
तेस्रो कारोबार दिन बजार परिसूचक सात दशमलव १३ अंकले ओरालो लागेर एक हजार नौ सय २९ दशमलव ७० विन्दुमा झरेकोमा क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ४६ अंकले ओरालो लागेर तीन सय ७९ दशमलव ६० विन्दुमा झरेको थियो । तेस्रो कारोबार दिन पनि बजार परिसूचक सात दशमलव ७२ अंकले ओरालो लागेर एक हजार नौ सय २१ दशमलव ९९ विन्दुमा झरेकोमा क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ७० अंकले ओरालो लागेर तीन सय ७७ दशमलव ९० विन्दुमा झरेको थियो । पाँचौँ कारोबार दिन भने बजार परिसूचक ११ दशमलव ५६ अंकले उकालो लागेर एक हजार नौ सय ३३ दशमलव ५५ विन्दुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव शून्य दुई विन्दुले उकालो लागेर तीन सय ८० दशमलव ९२ विन्दुमा चढेको थियो ।
यस साता बढी रकम कारोबार गर्ने कम्पनीहरूको सूचीमा सिभिल बैंक, शिवम् सिमेन्ट, नेशनल हाइड्रोपावर कम्पनी, नेपाल टेलिकम आदि अगाडि परेका छन् भने सेयर कारोबार भएको संख्याको आधारमा शिवम् सिमेन्ट, नेपाल टेलिकम, नेशनल हाइड्रोपावर कम्पनी, आदि अगाडि परेका छन् । यसैगरी बजार पुँजीकरणको आधारमा भने यससाता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी आदि परेका छन् ।