पर्सा । देशको प्रमुख व्यापारिक नाका वीरगञ्जको राजस्व सङ्कलन लगातार चार महिनादेखि घट्दै गएको छ । चालू आर्थिक वर्षको साउन महिनामा लक्ष्यको ८५ प्रतिशत राजस्व सङ्कलन गरेको वीरगञ्ज भन्सार कार्यालयले कात्तिक महिनामा ६० प्रतिशत मात्र राजस्व सङ्कलन गरेको छ ।
चालू आवको साउनमा १५ अर्ब २० करोड सात लाखको लक्ष्य लिएकामा कार्यालयले एक अर्ब २१ करोड सात लाख कम अर्थात् १२ अर्ब ९८ करोड ९९ लाख सङ्कलन गरेको छ । भदौमा १९ अर्ब २९ करोड ४५ लाख राजस्वको लक्ष्य पाएको भन्सार कार्यालयले पाँच अर्ब १५ करोड २० लाख कम अर्थात् १४ अर्ब १४ करोड २५ लाख मात्र सङ्कलन गरेको कार्यालयका सूचना अधिकृत सुमित गुप्ताले जानकारी दिए ।
असोजमा २१ अर्ब ८८ करोड ३३ लाखको लक्ष्य राखेकामा नौ अर्ब ३८ करोड ९४ लाख कम अर्थात् १२ अर्ब ४९ करोड ३८ लाख राजस्व सङ्कलन गरेको छ । चालू आवको साउन, भदौ र असोजमा राजस्व सङ्कलनको लक्ष्य हासिल गर्न चुकेको कार्यालयले कात्तिकमा लक्ष्यभन्दा न्यून सङ्कलन गरेको छ ।