काठमाडौं । नेपाल सरकारको सम्बन्धित निकायबाट स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका तथा विदेशमा जान लागेका व्यक्ति तथा निजका परिवारजनहरूका लागि प्रभु क्यापिटलले एक वर्षका लागि निःशुल्क डिम्याट खाता र मेरो सेयर प्रदान गर्ने उद्देश्यले रेमिट्यान्स डिम्याट खाता सञ्चालनमा ल्याएको छ । नेपाल धितोपत्र बोर्डले आगामी दिनमा कम्पनीहरूले आईपीओ जारी गर्दा निष्काशित सेयरको १० प्रतिशत सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपाली नागरिकका लागि छुट्याई बाडँफाँट गर्नुपर्ने प्रावधान जारी गरेकोले क्यापिटलले निकायको सोही उद्देश्यलाई सघाउ पु¥याउन यो योजना ल्याएको जनाएको छ ।
श्रम स्वीकृती लिई विदेश रोजगारमा रहेका तथा जान लागेका व्यक्तिहरूको देशप्रतिको योगदानलाई सम्मान गर्दै सोही आरक्षित सेयरमा उनीहरूको सरल र सुलभ पहुँच होस् भनी देशलाई रेमिट्यान्समा उल्लेखनीय योगदान गरेकोमा ‘देशलाई योगदान, प्रभु क्यापिटलको सम्मान’ भन्ने स्लोगनसहित क्यापिटलले यो निःशुल्क डिम्याट स्किम सञ्चालनमा ल्याएको हो । क्यापिटलका अनुसार सो योजनामा डिम्याट आवेदन समावेश हुनका लागि ग्राहकहरूले वैदेशिक रोजगारीको लागि सम्बन्धित निकायबाट स्वीकृति प्राप्त भएको प्रमाण संलग्न गर्नुपर्नेछ भने परिवारजनको हकमा डिम्याट आवेदन भर्दा नाता प्रमाणित कागजात आवश्यक हुनेछ ।
यस योजनामा देश वा विदेशमा श्रम स्वीकृति लिई कार्यरत रहेका तथा जान लागेको नेपालीहरूले संसारको जुनै ठाउँबाट पनि विना कुनै झन्झट आफू र आफ्नो परिवारको लागि निःशुल्क डिम्याट खाता खोली लाभन्वित हुन सक्नेछन् । योजनामा देश वा विदेशमा रहेका नेपालीहरूले स्वयम् उपस्थित रहेर खाता खोल्नुका साथै वेबसाइट तथा मोबाइल एपबाटै अनलाइन एप्लाइ गरी भिडियो केवाईसीसहितको डिम्याट खाता आफू रहेको ठाउँबाटै खोल्न सक्नेछन् । व्यक्तिले अनलाइन रिक्युेस्ट गर्दा भिडियो केवाईसी छनोट गरी आफूअनुकूल समयमा अप्वाइन्टमेन्ट लिई सोमार्फत तुरुन्तै अनलाइन डिम्याट खोल्न सकिने क्यापिटलले जनाएको छ ।
कम्पनीका अनुसार रेमिट्यान्स डिम्याट खाताको विशेषताहहरूअन्तर्गत योजनामा एक वर्षको लागि निःशुल्क डिम्याट खाता र मेरो सेयर अनलाइन सेवा प्रदान गरिने, श्रमिक हितग्राहीसँगै निजका परिवारजनलाई समेत एक वर्ष निःशुल्क डिम्याट तथा मेरो सेयर खाता खोलिने, भिडियो केवाईसीमार्फत तुरुन्तै अनलाइन डिम्याट खाता खोल्न सकिने, डिम्याट खाता खोल्ने सेवा प्रभु क्यापिटलको वेबसाइट तथा मोबाइल एपबाटै प्राप्त गर्न सकिने र लगानी व्यवस्थापन सेवाको वार्षिक शुल्कमा ५० प्रतिशत छुट आदि रहेका छन् ।