काठमाडौं । सेयरबजारको ओरालो यात्राले साताको तेस्रो कारोबार दिन आज मंगलबार पनि निरन्तरता पाएको छ । अघिल्लो दिन २४ अंकले ओरालो लागेको बजार परिसुचक आज पुन चार दशमलव ८७ अंकले ओरालो लागेर १९ सय ३३ दशमलव ८८ बिन्दुमा झरेको छ ।
यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ५६ अंकले ओरालो लागेर तीन सय ७८ दशमलव शुन्य आठ बिन्दुमा झरेको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय ३८ वटा कम्पनीहरुको सेयर खरिद बिक्री भएका छन् । जसबाट १९ हजार एक सय २१ पटकको कारोबारमा २५ लाख ८१ हजार चार सय २५ कित्ता सेयर किनबेच भएका छन् । सोही किनबेचका आधारमा आज कारोबार रकम ९६ करोड ५२ लाख १० हजार आठ सय ९९ रुपैंयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा कारोबार भएका कुल उपसमुहहरु मध्ये आज तीन वटा उपसमुहहरुको सुचक उकालो लागेका छन् भने बाँकी १० वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।