काठमाडौं । वन तथा वातावरण विभागले सवारी धनीलाई प्रदूषण जाँच गरी मापदण्ड पूरा गरेर मात्र गाडी चलाउन आग्रह गरेको छ । वायु प्रदूषणको मुख्य कारण गाडीबाट निस्कने धुवाँ र खुलारूपमा जलाउने फोहर रहेको भन्दै विभागले बिहीबार सूचना जारी गरी प्रदूषण जाँच गरेर मात्र सवारी साधन चलाउन आग्रह गरेको हो ।
अबका दिनमा विभागले गाडीको धुवाँ निस्कासनको अवस्थाबारे परीक्षणलाई प्रभावकारी बनाउने समेत विभागले जनाएको छ । पछिल्लो समय धुवाँ परीक्षण गर्दा मापदण्डभन्दा धेरै प्रदूषण गराइरहेका गाडी फेला परेका छन् । एक पटकको लागि मर्मत गरी अवस्था दुरुस्त राख्न दिने गरेकोमा अब पुस १ गतेदेखि विभागको परीक्षणमा प्रदूषण जाँच पास हुन नसक्ने गाडीलाई एक लाख रूपैयाँसम्म जरिवाना गर्ने विभागले चेतावनी दिएको छ ।