काठमाडौं । बुटवल–बर्दघाट र दमौली–आँबुखैरेनी जोड्ने अप्टिकल फाइबर काटिएका कारण एनसेल आजियाटा लिमिटेडले दिँदै आएको सेवा अवरुद्ध भएको छ । बिहीबार बिहानदेखि एनसेलको सेवा अवरुद्ध भएको एनसेलले एक सूचना जारी गर्दै जानकारी दिएको हो ।
यस्तै एनसेलले कम्पनीका सम्बन्धित मर्मतसम्भार टोलीहरू फिल्डमा खटाइसकेकाले चाँडै सेवा सुचारु गर्ने प्रयास भइरहेको समेत जनाएको छ । अप्रत्याशित घटनाले सेवामा पर्न गएको असुविधाका लागि कम्पनीले माफी समेत मागेको छ । अत्यावश्यक दूरसञ्चार सेवालाई सुचारु राख्नका लागि महत्वपूर्ण दूरसञ्चार पूर्वाधारको संरक्षणमा सजग रहन एनसेलले सबैलाई अनुरोध समेत गरेको छ ।
सूचनामार्फत एनसेलले भनेको छ, ‘हामीलाई गर्नुभएको माया, विश्वास, समर्थन र समझदारीका लागि हामी सम्पूर्ण ग्राहक, साझेदार तथा शुभचिन्तकप्रति आभारी छौँ । साथै, हामी भरपर्दो र गुणस्तरीय सेवाहरू प्रदान गर्न प्रतिबद्ध छौँ ।’