काठमाण्डौं,फागुन २६
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा बिहीबार डोल्पाको जुफाल शाखा सञ्चालनमा ल्याएको छ । पूजापाठ गरी बैंकले डोल्पाको जुफाल शाखा सञ्चालनमा ल्याएको हो । उक्त शाखाको शुभारम्भ समारोहमा स्थानीय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघसंस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरूको उपस्थिति रहेको थियो ।नेपाली जनताका माझमा आफ्नो उपस्थितिलाई बलियो बनाउन तथा आम नागरिकलाई अत्यावश्यक वित्तीय सेवाको पहँुच प्रदान गर्ने उद्देश्यका साथ बैंकले शाखा विस्तार गरेको हो । नेपाल सरकारले अवलम्बन गरेको वित्तीय समावेशिताको अवधारणालाई कार्यान्वयन गर्न शाखा सञ्जालको विस्तारले टेवा पुग्ने विश्वास बैंकले लिएको छ । दुर्गम क्षेत्रका सर्वसाधारणले बैंकिङ सेवा लिन जिल्ला सदरमुकाम वा सहरबजारमै पुग्नुपर्ने बाध्यात्मक परिस्थितिको अन्त्य गर्ने उद्देश्यका साथ डोल्पाको जुफाल शाखा विस्तार गरेको बैंकले जानकारी प्रदान गरेको छ ।यी शाखाहरूमार्फत ग्राहकहरूको वित्तीय आवश्यकता पूरा गर्न सम्पूर्ण रिटेल बैकिङ सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरूमाझ वित्तीय पहुँच पु¥याँउने लक्ष्य बैंकले राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जालगायतका वित्तीय सेवाहरू छिटो, छरितो, चुस्त र दुरुस्तरूपमा ग्राहकहरूलाई प्रदान गर्ने प्रतिबद्धता बैंकले व्यक्त गरेको छ ।सरकारले वित्तीय पहँुच तथा समावेशिता वृद्धि र औपचारिक अर्थतन्त्रको प्रवर्धनका लागि सबै नेपालीको बैंक खाता भन्ने नीति अवलम्बन गरेको छ । संघीयतालाई दह्रो र सहज बनाउन अतुलनीय भूमिका निर्वाह गर्दै आएको बैंकले प्रदेश नं १ मा १२, प्रदेश नं २ मा ८, बागमती प्रदेशमा ३९, गण्डकी प्रदेशमा ७, प्रदेश नं ५ मा १३, कर्णाली प्रदेशमा ८ तथा सुदूरपश्चिम प्रदेशमा ७ गरी कुल ९३ वटा शाखा कार्यालयहरूबाट ग्राहकवर्गहरूलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरू, घरैमा बसेर बैंक खाताखोल्न सकिने अनलाइन सुविधा, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, कार्ड सेवासाथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरू उपलब्ध गराउँदै आएको छ । सूचना प्रविधिमा आएको परिवर्तनलाई अंगीकार गर्दै बैंकले ग्राहकवर्गलाई घरमै बसेर छिटो, छरितो, चुस्त र दुरुस्तरूपमा वित्तीय सेवा सुविधा उपभोग गर्न मिल्ने विभिन्न प्रविधिमैत्री योजनाहरूसमेत सञ्चालनमा ल्याएको छ ।
बैंकले नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजत प्राप्त सहयोगी विकाश बैंक लिमिटेडलाई प्राप्ति गर्नेगरी अन्तिम सम्झौतामा हस्ताक्षर गरिसकेको छ । प्राप्तिपश्चात् बैंकको कुल शाखा एक सय आठ पुग्नेछ भने प्रदेश नं २ मा थप १३ तथा बागमती प्रदेशमा १ शाखाहरू सञ्चालनमा आउनेछन् । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरि फैलिएका आफ्ना ९४ वटा शाखा, ९० वटा एटीएम र एक सय तीनवटा शाखारहित बैंकिङ एकाइहरूबाट करिब पाँच लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ । अन्तर्राष्ट्रिय कार्ड प्रदायक कम्पनी भिजासँगको सहकार्यमा बैंकको भिजा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी नेपाल भित्रको कुनै पनि पीओएस मेशिनमार्फत सामान वा सुविधा खरिद गर्दा २० प्रतिशतसम्म क्यास ब्याक (नगद फिर्ता) हुने योजना सञ्चालनमा रहेको छ ।