काठमाडौं । विकास बैंकहरुको कुल कर्जा रकम चार खर्ब ५४ अर्ब १७ करोड ९० लाख रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको असोज मसान्तसम्ममा सञ्चालनमा रहेका १७ वटा विकास बैंकहरुले उक्त परिमाणमा कर्जा प्रवाह गरेका हुन् । उक्त परिमाणमा कर्जा प्रवाह हुँदा विकास बैंकहरुको औसत निष्क्रिय कर्जाको अनुपात दुई दशमलव ३२ प्रतिशत पुगेको राष्ट्र बैंकको भनाइ छ । चालू आवको असोज मसान्तसम्ममा विकास बैंकहरुको कुल निक्षेप रकम भने पाँच खर्ब १७ अर्ब ६६ करोड ३० लाख रुपैयाँ पुगेको छ ।
विकास बैंकहरुको कुल निक्षेप तथा कर्जा रकममा सबैभन्दा ठूलो हिस्सा भने मुक्तिनाथ विकास बैंकको देखिएको छ । अरु विकास बैंकहरुले ३० देखि ५० अर्ब रुपैयाँको हाराहारीमा निक्षेप संकलन तथा कर्जा प्रवाह गर्दा मुक्तिनाथ विकास बैंकहरुको निक्षेप तथा कर्जा रकम वाणिज्य बैंककै हाराहारीमा पुगेको छ । चालू आवको पहिलो त्रैमासिकमा मुक्तिनाथले एक खर्ब पाँच अर्ब ५६ करोड ७१ लाख ९५ हजार रुपैयाँ निक्षेप संकलन गरी ८८ अर्ब दुई करोड ५० लाख ४१ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । निक्षेप तथा कर्जा प्रवाहमा गरिमा विकास बैंक भने दोस्रो स्थानमा परेको छ । गरिमाले पछिल्लो अवधिमा ६८ अर्ब ९६ करोड ८४ लाख ७२ हजार रुपैयाँ निक्षेप संकलन गरी ५९ अर्ब ८५ करोड ९९ लाख ४७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । ज्योतिले भने पछिल्लो अवधिमा ५३ अर्ब ९२ करोड २९ लाख ५३ हजार रुपैयाँ निक्षेप संकलन गरी ४८ अर्ब ५९ करोड ७४ लाख ९४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
चालू आवको पहिलो त्रैमासिकमा सांग्रिला डेभलपमेन्ट बैंकले भने ४९ अर्ब ९७ करोड २५ लाख २८ हजार रुपैयाँ निक्षेप संकलन गरी ४२ अर्ब १४ करोड २६ लाख २२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । यसैगरी कामना सेवा विकास बैंकले पनि चालू आवको पहिलो त्रैमासिकमा ४७ अर्ब ४७ करोड ७५ लाख ७७ हजार रुपैयाँ निक्षेप संकलन गरी ४२ अर्ब ७८ करोड ३९ लाख ७३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले भने पछिल्लो अवधिमा ४५ अर्ब ५७ करोड ४४ लाख ६९ हजार रुपैयाँ निक्षेप संकलन गरी ३७ अर्ब ३८ करोड ८६ लाख २७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । महालक्ष्मी विकास बैंकको कुल निक्षेप तथा कर्जा प्रवाह रकम क्रमशः ४४ अर्ब २६ करोड ९९ लाख ९६ हजार र ३६ अर्ब १९ करोड ५३ लाख ७२ हजार रुपैयाँ पुगेको छ । यसैगरी लुम्बिनी विकास बैंकको कुल निक्षेप तथा कर्जा प्रवाह रकम पछिल्लो अवधिमा क्रमशः ४३ अर्ब ४२ करोड ६१ लाख ९४ हजार र ३८ अर्ब ७१ करोड ४५ लाख ६२ हजार रुपैयाँ पुगेको छ ।
क्षेत्रीयस्तरको नारायणी, मितेरी र कर्णाली डेभलपमेन्ट बैंकको कुल निक्षेप तथा कर्जा रकम भने क्रमशः ५१ करोड ७३ लाख पाँच हजार र ४७ करोड १० लाख ८७ हजार, चार अर्ब ३८ करोड ३१ लाख ७२ हजार र तीन अर्ब २८ करोड ८१ लाख ५३ हजार र छ अर्ब १२ करोड ७९ लाख ९० हजार र चार अर्ब ७० करोड ८५ लाख ५९ हजार रुपैयाँ पुगेको छ । यसैगरी ग्रिन डेभलपमेन्ट बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक र सिन्धु विकास बैंकले भने चालू आवको पहिलो त्रैमासिक अवधिमा क्रमशः तीन अर्ब १६ लाख १६ हजार र दुई अर्ब ७३ करोड ४२ लाख ६४ हजार, एक अर्ब सात करोड ३८ लाख ८० हजार र ९४ करोड ४९ लाख ५९ हजार र चार अर्ब ७० करोड ६६ लाख ५८ हजार र तीन अर्ब ७१ करोड ६१ लाख ३१ हजार रुपैयाँ रहेको छ ।