विराटनगर । विराटनगरस्थित डिग्री क्याम्पसको मैदानमा आगामी मंसिर २९ देखि आयोजना हुने विराट एक्स्पोमा कृषिका आधुनिक उपकरणदेखि प्रदेश १ का उत्पादित कृषिजन्य वस्तुहरूको प्रदर्शनीका लागि छुट्टै पेभिलियन रहने भएको छ ।
एक्स्पोको अवलोकनमा आउने कृषकहरू तथा उपभोक्तालाई लक्षित गरी कृषिसम्बन्धी आधुनिक प्रविधि र उपकरणहरू पनि प्रदर्शनीमा राखिने आयोजक समितिले जनाएको छ । आयोजक समितिको प्रचारप्रसार संयोजक नन्दकिशोर राठीले एक्स्पोमा आउने कृषकहरूलाई कृषिका आधुनिक प्रविधिबारे जानकारी दिइने बताए । उनले विश्वमा आधुनिक प्रविधिहरू भित्रिएको तर, नेपाली कृषकहरूले यस्ता प्रविधि र उपकरणबारे जानकारी नपाइरहेका कारण एक्स्पोमा कृषकहरूलाई नै लक्षित गरी छुट्टै पेभिलियनको व्यवस्था गरिएको जानकारी दिए ।
एक्स्पोमा प्रदेश सरकार कृषि मन्त्रालयले पनि २० वटा स्टल राख्ने जनाएको छ । मन्त्रालयकी खाद्य अनुसन्धान अधिकृत विमला पोखरेलले कृषिका आधुनिक उपकरण, नयाँ प्रविधिका विषयमा किसानलाई जानकारी गराउने गरी स्टलहरूको व्यवस्थापन गरिएको बताइन् । उनले एक्स्पोमा आउने किसानहरूले कृषि क्षेत्रमा उदाहरणीय काम गरेका किसान तथा उद्यामीहरूसँग छलफल गरी थप ज्ञान र सीप हासिल गर्नसक्ने स्पष्ट पारिन् । एक्स्पोमा कृषि, औजार, कृषि प्रविधि, कृषिजन्य उत्पादनका भिन्नाभिन्नै किसिमका स्टलहरू राखिएको पोखरेलले बताइन् ।
एक्स्पोमा भारतका कृषिजन्य मिल, मेसिनरी, उत्पादन गर्ने कम्पनीहरूको सहभागिता रहनेछ । यस्तै नेपाल कृषि मेसिनरी व्यवसायी संघको कृषि प्रविधि प्रदर्शनसहितको सहभागिता रहनेछ । एक्स्पोमा तेह्रथुमको ढाका, संखुवासभाको अल्लो, ताप्लेजुङको राडी, इलामको ललिपक, चियालगायतका कृषिजन्य वस्तुहरूका स्टल राखिने तयारी समेत भएको राठीले बताएका थिए ।