काठमाडौं । बैंक तथा फाइनान्स कम्पनीहरुमा कुल कर्जा खाताको संख्याको १८ लाख नाघेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको असोज मसान्तसम्ममा सञ्चालनमा रहेका ६४ वटा लघुवित्त वित्तीय संस्थाबाहेकका २६ वटा वाणिज्य बैंक, क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी १७ वटा विकास बैंक र १७ वटा फाइनान्स कम्पनीसहितका ६० वटा संस्थाहरुमा रहेको कुल कर्जा खाताको संख्या १८ लाख २१ हजार सात सय ८७ पुगेको हो । यस अवधिमा बैंकिङ क्षेत्रमा लगानीमा रहिरहेको कुल कर्जा रकम ४७ खर्ब ७० अर्ब १९ करोड ७० लाख रुपैयाँ पुगेको छ । बैंक तथा फाइनान्स कम्पनीहरुको कुल शाखा संख्या भने पछिल्लो अवधिमा छ हजार चार सय ६९ वटा रहेको छ ।
वाणिज्य बैंकहरुमा मात्र रहेको कुल कर्जा खाताको संख्या भने चालू आवको असोज मसान्तसम्ममा १४ लाख ८९ हजार सात सय ६३ रहेको छ । राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरुको सातवटै प्रदेशको ७७ वटा जिल्लाहरुमा फैलिएर रहेका पाँच हजार ७४ वटा शाखामा उक्त अनुपातमा कर्जा खाता सञ्चालनमा रहेको हो । यस अवधिमा वाणिज्य बैैंकहरुको कुल कर्जा रकम भने ४२ खर्ब २४ अर्ब ४५ करोड १० लाख रुपैयाँ पुगेको छ । राष्ट्र बैंकका अनुसार चालू आवको असोज मसान्तसम्ममा विकास बैंकहरुमा रहेको कुल कर्जा खाताको संख्या भने दुई लाख ९१ हजार छ सय १५ वटा रहेको छ । यी खातामार्फत विकास बैंकहरुले प्रवाह गरेको कुल कर्जा रकम भने पछिल्लो अवधिसम्ममा चार खर्ब ५४ अर्ब १७ करोड ९० लाख रुपैयाँ पुगेको छ ।
राष्ट्र बैंकका अनुसार चालू आवको असोज मसान्तसम्ममा फाइनान्स कम्पनीहरुमा सञ्चालनमा रहेको कुल कर्जा खाताको संख्या ४० हजार चार सय नौवटा रहेको छ । यी खातामार्फत फाइनान्स कम्पनीहरुले प्रवाह गरेको कुल कर्जा रकम ९१ अर्ब ५६ करोड ७० लाख रुपैयाँ पुगेको छ । फाइनान्सहरुको देशभर सञ्चालनमा रहेको कुल शाखा संख्या भने दुई सय ७४ वटा रहेको छ । बैंक तथा फाइनान्स कम्पनीहरुको कुल एटीएम काउन्टरको संख्या पछिल्लो अवधिमा चार हजार छ सय ६४ वटा पुगेको छ । जसमध्ये वाणिज्य बैंकहरुको चार हजार दुई सय ९५, विकास बैंकहरुको तीन सय २५ र फाइनान्स कम्पनीहरुको ४४ वटा एटीएम काउन्टरहरु सञ्चालनमा रहेको राष्ट्र बैंकको भनाइ छ ।
चालू आवको पछिल्लो अवधिमा बैंक तथा फाइनान्स कम्पनीहरुको कुल निक्षेप खाताको संख्या भने चार करोड ६८ लाख ५५ हजार छ सय ४३ रहेको छ । यी खातामार्फत बैंक तथा फाइनान्स कम्पनीहरुले ५१ खर्ब ७१ अर्ब ६७ करोड १० लाख रुपैयाँ निक्षेप संकलन गरेका छन् । यस अवधिमा वाणिज्य बैंकहरुले मात्र भने चार करोड चार लाख ७३ हजार पाँच सय ४८ वटा निक्षेप खातामार्फत ४५ खर्ब ४८ अर्ब ५७ करोड ८० लाख रुपैयाँ निक्षेप संकलन गरेको छ । यसैगरी विकास बैंकहरुले पनि ५६ लाख ९८ हजार नौ सय १४ वटा निक्षेप खातामार्फत पाँच खर्ब १७ अर्ब ६६ करोड ३० लाख रुपैयाँ निक्षेप संकलन गरेका छन् । फाइनान्स कम्पनीहरुले चालू आवको पछिल्लो अवधिमा छ लाख ८३ हजार एक सय ८१ वटा निक्षेप खातामार्फत एक खर्ब पाँच अर्ब ४३ करोड रुपैयाँबराबरको निक्षेप संकलन गरेका छन् ।
अनलाइन जुवा तथा बाजीजन्य कार्यमा संलग्न भए कारोबार बन्द : राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले अनलाइन जुवा तथा बाजीजन्य कार्यमा संलग्न हुनेहरुको कारोबार बन्द गरिदिने चेतावनी दिएको छ । विश्वकप खेल भइरहेको अवस्थामा धेरै व्यक्ति तथा संस्थाहरुले सरकारले गैरकानुनी घोषणा गरेको अनलाइन जुवा खेलाएको विभिन्न घटनाहरु सार्वजनिक भएपछि राष्ट्र बैंकले मंगलबार सरोकारवाला सबैको नाउँमा सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो ।
यो निर्देशनअनुसार कसैले अनलाइन जुवा खेलेमा वा खेलाएमा त्यस्तो कार्यमा संलग्न व्यक्ति तथा संस्थाहरुको मोबाइल बैंकिङ कारोबार नै बन्द गरिदिनेसम्मको चेतावनी राष्ट्र बैंकले दिएको छ । राष्ट्र बैंकले भनेको छ, ‘विद्युतीय भुक्तानी कारोबारमार्फत जुवा तथा बाजीजन्यलगायतका कार्यमा कोही संलग्न भएको पाइएमा सम्बन्धित, व्यक्ति, समूह तथा संस्थालाई कानुनी कारबाही हुने तथा निजहरुको बैंक खाता, मोबाइल वालेट लगायतबाट हुने कारोबार रोक्का गरिनेछ ।’
अनुमतिपत्र प्राप्त संस्थाहरुले जुवा तथा बाजीजन्य कार्यहरुको भुक्तानी बैंक खाता, मोबाइल बैंकिङ, मोबाइल वालेटलगायतका माध्यमबाट हुन नदिने व्यवस्था मिलाउन पनि राष्ट्र बैंकले निर्देशन दिएको छ । यदि कसैले अनलाइन जुवाजन्य कार्य गरेमा सोको जानकारी दिन पनि राष्ट्र बैंकले आग्रह गरेको छ । राष्ट्र बैंकले अनलाइन बैंकिङ, मोबाइल बैंकिङ, डिजिटल वालेटजस्ता विद्युतीय भुक्तानीका माध्यमबाट अनलाइन जुवा तथा बाजीलगायतका गैरकाकानुनी कार्यमा संलग्न नहुन यस्तो आग्रह गरेको हो ।