काठमाडौं । आईएमई ग्रुपद्वारा सञ्चालित आईएमई डिजिटल सोलुसन लिमिटेड (आईएमई पे)को प्रमुख कार्यकारी अधिकृतमा प्रवीण रेग्मी नियुक्त भएका छन् । इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसनमा स्नातक एवम् बिजनेस एडमिनिस्ट्रेसनमा स्नातकोत्तर रेग्मीसँग विभिन्न बैंक तथा वित्तीय संस्थामा डेढ दशकभन्दा बढीको कार्यानुभव छ ।
पेमेन्ट सिस्टम, बैंकिङ, टेक्नोलोजी र टेलिकमका क्षेत्रमा विशेष दख्खल राख्ने रेग्मीले विभिन्न अन्तर्राष्ट्रिय विश्वविद्यालयबाट डिजिटल भुक्तानीसँग सम्बन्धित सैद्धान्तिक एवम् प्रयोगात्मक दुवै तालिम प्राप्त गरिसकेको कम्पनीले जनाएको छ । काठमाडौं पानीपोखरीस्थित आईएमई कम्प्लेक्सको टाउन हल मिटिङ्गमा नवनियुक्त प्रमुख कार्यकारी अधिकृतको स्वागतका लागि मङ्गलबार एक विशेष कार्यक्रमको आयोजना गरिएको थियो ।
उक्त कार्यक्रममा आईएमई डिजिटल सोलुसन लिमिटेड (आईएमई पे) का अध्यक्ष एवम् ग्रुपका प्रबन्धनिर्देशक हेमराज ढकालले रेग्मीलाई स्वागत गरेका थिए । कार्यक्रममा उनले रेग्मीको नेतृत्वसँगै कम्पनीले नयाँ उचाई प्राप्त गर्ने विश्वास व्यक्त गरे । कार्यक्रममा ग्रुपका सिनियर भाइस प्रेसिडेन्ट सुमन पोखरेलसहित ग्रुपमा कार्यरत उच्चपदस्थ कर्मचारीहरूको सहभागिता थियो ।