काठमाडौं । सिभिल बैंक लिमिटेड र नेपाल टेलिकमबीच सम्झौता भएको छ । सम्झौतापत्रमा सिभिल बैकका तर्फबाट चिफ विजिनेस भोला बहादुर विष्ट र नेपाल टेलिकमको तर्फबाट प्रमुख व्यावसायिक अधिकृत संगिता अर्यालले हस्ताक्षर गरेका हुन् ।
सो सम्झौतापत्रअनुसार २०७९ पुस १ गतेदेखि नेपाल टेलिकमको मोबाइल सेवा प्रयोगकर्ताहरूले डाटा अन गरी सिभिल बैंकको मोबाइल बैंकिङ एपमार्फत फन्ड ट्रान्सफर, क्यूआर पेमेन्टलगायत अन्य फिचरहरूको उपयोग गर्दा कुनै पनि शुल्क लाग्ने छैन । नेपाल राष्ट्र बैंकको विद्युतीय माध्यममार्फत कारोबार गर्न प्रोत्साहन गर्ने नीतिबमोजिम सिभिल बैंकले आफ्नो ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै यो सम्झौता गरेको हो ।
सिभिल बैंकको साढे चार लाखभन्दा बढी मोबाइल बैंकिङ एपका प्रयोगकर्ताहरू यस सम्झौतापत्रबाट प्रत्यक्ष लाभान्वित हुने कुरा सिभिल बैंकका चिफ विजिनेस भोला बहादुर विष्टले बताए । बैंकले हालसम्म ९४ अर्ब २४ करोड रुपैयाँ निक्षेप संकलन गरी ८७ अर्ब आठ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको हाल सबै क्षेत्रमा गरी एक सय १५ वटा शाखा, १३ वटा एक्सटेन्सन काउन्टर तथा एक सय दुईवटा एटीएम काउन्टर रहेको छ ।