काठमाडौं । सेन्ट्रल फाइनान्स लिमिटेडले पर्साको विरगञ्ज, वडा नं. ८, लिंक रोडमा बुधबारबाट वीरगञ्ज शाखा सञ्चालनमा ल्याएको छ । संस्थाको १७औँ शाखाको रूपमा उक्त शाखा सञ्चालनमा आएको हो ।
नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त वित्तीय संस्थाको रूपमा विगत २५ वर्षदेखि गुणस्तरीय बैंकिङ सेवा दिँदै आएको यस संस्थाको ललितपुरको कुपण्डोल कानदेवस्थानस्थित आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयसहित काठमाडौंको चावहिल र गोंगबु गणेशस्थान, चितवनको नारायणगढ, रूपन्देहीको बुटवल र भैरहवा, भक्तपुरको च्याम्हासिंह, महोत्तरीको बर्दिबास, नवलपरासीको बर्दघाट, बाराको सिमरा, सिन्धुलीको भिमान र डकाहा, सर्लाहीको लालबन्दी, धनुषाको जनकपुर, सुनसरीको इटहरी, झापाको बिर्तामोड गरी १६ वटा शाखा र भक्तपुरको सल्लाघारीमा १ एक्सटेन्सन काउन्टर सञ्चालनमा रहेको छ । संस्थाले कारोबार विस्तारको क्रममा छिट्टै नै मोरङको विराटनगर र रौतहटको चन्द्रनिगाहपुरमा थप दुई नयाँ शाखा सञ्चालनमा ल्याउन लागेको छ ।
संस्थाले सेन्ट्रल स्मार्ट मोबाइल बैंकिङ एप, एटीएम डेबिट कार्ड, चेक क्लियरिङ, आईपीएस, कनेक्ट आईपीएस, कर्पोरेट पे, आरटीजीएस, मर्चेन्ट क्यूआर पेमेन्ट, क्यूआर टेलर, रेमिट्यान्स सेवा, सी–आास्वाजस्ता आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ । संस्थाले आधुनिक प्रविधिको उच्चतम प्रयोग गरी थप डिजिटल बैंकिङ सेवा प्रदान गर्दै लैजाने लक्ष्य लिएको छ । ग्राहकहरूको बैंक खाता, वालेट, क्यूआरजस्ता विद्युतीय रकमान्तर तथा भुक्तानीका माध्यममा सहज पहुँचको व्यवस्था पनि मिलाएको संस्थाले विभिन्न शाखा कार्यालयहरूमा एटीएम सेवा पनि सञ्चालन गरिरहेको छ । चुक्ता पुँजी ९४ करोड ८८ लाख ७५ हजार रुपैयाँ रहेको संस्थाको हाल निक्षेप छ अर्ब ११ करोड र कर्जा पाँच अर्ब २० करोड रुपैयाँ रहेको छ ।