काठमाडौं । नेपाल बंगलादेश क्यापिटल लिमिटेड र नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड एक–आपसमा गाभिई शुक्रबारबाट एकीकृत कारोबारको सुरुवात गरेका छन् । दुवै संस्थाको नियमनकारी निकाय नेपाल धितोपत्र बोर्डद्वारा जारी गरिएको धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) नियमवाली २०६४ को नियमबमोजिम सहायक कम्पनी स्थापना गरी मर्चेन्ट बैंकिङ व्यवसाय सञ्चालन गरिरहेका बैंक वा वित्तीय संस्था एक–आपसमा गाभिएमा वा कुनै एकले प्राप्त (मर्जर/एक्विजिसन) गरेमा एकमात्र सहायक कम्पनी कायम गरी मर्चेन्ट बैंकिङ व्यवसाय सञ्चालन गर्नुपर्ने र गाभिने वा प्राप्त गर्ने कार्य सम्पन्न भएको छ महिनाभित्र मर्चेन्ट बैंकिङ व्यवसायको लागि एकमात्र सहायक कम्पनी कायम गरी सक्नुपर्ने कानुनी व्यवस्था रहेको छ । सो व्यवस्थाअनुसार संस्थाका प्रवर्द्धक श्री नबिल बैंकले एनबी बैंकलाई प्राप्ति गरेपछि भाद्र २१, २०७९ मा यस संस्था र एनबी क्यापिटलबीच सैद्धान्तिक सहमति भई संयुक्त मर्जर कमिटी गठन गरिएको थियो ।
मंसिर १८ मा दुवै संस्थाले आ–आफ्नो विशेष साधारणसभा गरी एक आपसमा गाभ्ने गाभिनेसम्बन्धी एजेन्डा पारित गरिएको थियो । विशेष साधारणसभाबाट अनुमोदित निर्णयसहित दुवै संस्थाबाट एकीकृत कारोबारका लागि कम्पनी रजिष्टारको कार्यलय निवेदन पेस गरिएको र कम्पनी रजिष्टारबाट एकीकृत कारोबारको लागि स्विकृति प्राप्त भएपछि गत मंसिर २७ गते यस कम्पनीको सञ्चालक समितिको निर्णयबमोजिम शुक्रबारदेखि एकीकृत कारोबार गर्ने निर्णयबमोजिम उक्त घोषणासभाको आयोजना गरिएको थियो ।
घोषणासभामा नबिल बैंकका अध्यक्ष उपेन्द्र पौडेल, बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानालगायत बैंकका उपप्रमुख कार्यकारी अधिकृतहरू तथा साविक नेपाल बंगलादेश क्यापिटलका सचालकहरू र नबिल इन्भेष्टका सञ्चालकहरूको उपस्थिति रहेको थियो ।