सोलुखुम्बु । सोलुखुम्बु सदरमुकाम सल्लेरीबाट जिल्लाकै प्रसिद्ध तीर्थस्थल तामाखानीस्थित ज्वालामाई मन्दिर जाने सडक ग्राभेललको काम सुरु भएको छ ।
प्रदेश सरकार पूर्वाधार विकास तथा सहरी विकास मन्त्रालयको ४२ करोडको लागत स्टिमेटमा गत बिहीबारदेखि सल्लेरी थापाटोलको जेरोपोइन्टबाट तामाखानी जाने सडक ग्राभेलको काम सुरु भएको हो । प्रदेश सरकारको चालू आर्थिक वर्षको करिब ४२ करोडको उक्त योजनामा ओसेस इन्जिनियर एन्ड बिल्डर्स प्रालि काठमाडौंले २१ करोड २३ लाखमा ठेक्का पारेको पूर्वाधार विकास कार्यालय ओखलढुंगाका सबइन्जिनियर भरुमान राईले जानकारी दिए । उक्त बजेटभित्र १३ किलोमिटर सडकमा ग्राभेलसहित स्ट्रक्चर, ग्याबिङ, साइड कटिङलगायतका काम हुने सबइन्जिनियर राईले बताए । कम्पनीले करिब डेढ वर्षभित्रमा काम सम्पन्न गर्नेगरी गत असारमा सम्झौता गरेको उनको भनाइ छ । ग्राभेल कालोपत्रेको अन्तिम चरणको काम भएकाले ग्राभेलपछि कालोपत्रे गरिने पूर्वाधार विकास कार्यालय ओखलढुंगाले जनाएको छ ।
सोलुदुधकुण्ड नगरपालिका ३ तामाखानीमा अवस्थित सोलुकै प्रसिद्ध धार्मिकस्थल ज्वालामाई मन्दिरमा वर्षेनी हजारौँ भक्तजन पुग्ने गर्छन् । उक्त हिन्दु र बौद्ध धर्मावलम्बीहरूको आस्थाको केन्द्र ज्वालामाई मन्दिरमा नेपालको राजधानी काठमाडौंदेखि, झापा, मोरङ, सुनसरी, कास्कीदेखि भारतबाट समेत भक्तजनहरू पुग्ने गरेका छन् । तर सदरमुकाम सल्लेरीबाट मन्दिर पुग्ने सडक भरपर्दो हुँदा भक्तजनहरूले सास्ती खेप्दै आएका छन् ।