तुलसीपुर । दाङको तुलसीपुर–१२ स्थित टरिगाउँ विमानस्थलमा अब हप्ताको पाँच दिन उडान हुने भएको छ । यसअघि हप्ताको तीन दिनमात्रै उडान हुने गरेको थियो । तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीका अनुसार यसअघि बिहीबार, शुक्रबार र शनिबार मात्रै उडान हुँदै आएको थियो ।
पछिल्लो समय आइतबार र मंगलबार पनि उडान भर्ने गरेको उनले बताइन् । हवाइ इन्धन डिपोबाट इन्धन ‘रिफ्युल’ गर्न थालेपछि उडान पनि थप गरिएको उनले जानकारी दिइन् । ‘यसअघि इन्धन डिपोबाट इन्धन हाल्न सुरु भएको थिएन, अब यहीबाट इन्धन हाल्न थालिएको छ’, उनले भनिन्, ‘त्यसैले अहिले हप्तामा पाँच दिन उडान थप गरिएको छ ।’ यात्रुको चाप बढेमा प्रत्येक दिन हवाइ उडान भर्ने गरी तयारी गरेको उनले बताए । साथै निजी हवाई सेवासँग पनि समन्वय गर्ने गरी तयारी रहेको उनको भनाइ छ । ‘नियमित भएमा हामीले निजी क्षेत्रका जहाज ल्याउने गरिरहेका छौँ’, उनले भनिन्, ‘त्यसमा यात्रुको माग कस्तो आउँछ, त्यसमा भर पर्छ ।’