काठमाडौं । आईसीटी अवार्डले साउथ एसिया स्टार्टअप आईसीटी अवार्ड २०२२ का उत्कृष्ट पाँच प्रतिस्पर्धी सार्वजनिक गरेको छ । सार्क राष्ट्रका स्टार्टअपलाई लक्षित गर्दै आईसीटी अवार्डले यस वर्षदेखि साउथ एसिया स्टार्टअप विधा थप गरेको हो ।
आयोजकका अनुसार यस विधामा सार्क राष्ट्रबाट ५० बढीको आवेदन प्राप्त भएको थियो । त्यसमध्ये यसअघि उत्कृष्ट १० हुँदै बिहीबार उत्कृष्ट पाँच सार्वजनिक गरिएको हो । साउथ एसियाका उत्कृष्ट पाँच स्टार्टअपमा बंगलादेशको बोरक, श्रीलंकाको एक्जामहब र म्याजिकबिट, पाकिस्तानको पोल्टा इंक तथा भारतबाट टेक फोर बिलियन (चिंगारी) पर्न सफल भएका छन् । बोरक बंगलादेशको सुपर एप हो । यसले राइड सेयरिङ, शप म्यानेजमेन्ट सोलुसन, वालेटलगायतको सेवा दिँदै आएको छ । यस्तै छनौटमा परेको एक्जाम हब श्रीलंकाको स्टार्टअप हो । यो एउटा गेमिफाइड एक्जामिनेसन सिस्टम हो । यस्तै म्याजिक बिट पनि साउथ एसिया स्टार्टअप अवार्डको उत्कृष्ट पाँचमा पर्न सफल स्टार्टअप हो । म्याजिक बिट लर्निङ प्लेटफर्म हो, यसले एआई, आईओटी, रोबोटिक्स, प्रोग्रामिङलगायतका नयाँ प्रविधि प्रयोग गरेर विद्यार्थीलाई सिकाउँछ । समग्रमा भन्नुपर्दा यो स्टिम एजुकेसन सोलुसन हो ।
पोल्टा इंक पाकिस्तानको स्टार्टअप हो । यसले कृषकहरूको पोल्ट्री फार्मको मूल्य शृंखला पहिले नै पत्ता लगाउन, भविष्यवाणी गर्न र नोक्सान रोक्न मद्दत गर्दै आएको छ । साथै चिंगारी भारतीय स्टार्टअप हो । यसले टिकटकको जस्तै शर्ट भिडियो सुविधा प्रदान गर्दै आएको छ ।