काठमाडौं । नेपाल र नेपालीको अपरिहार्य बनेको वैदेशिक रोजगारीले आर्थिक उपार्जनको महत्वपूर्ण हिस्सा बन्नुको साथै पारिवारिक विखण्डनको कारक समेत बनेको छ ।
राष्ट्रिय योजना आयोगले गरेको ‘वैदेशिक रोजगारीले गरिबी निवारण र सामाजिक सुरक्षामा पारेको प्रभाव अध्ययन प्रतिवेदन २०७९’ ले वैदेशिक रोजगारीको कारण परिवार विखण्डन हुने, विदेशबाट पठाएको रकम हिनामिना, आश्रित परिवारका बूढाबूढी, बालबच्चाको हेरचाहमा समस्या आउने गरेको देखिए पनि आधारभूत आवश्यकताहरु गाँस, बास, स्वास्थ्य, शिक्षा पूरा गर्न वैदेशिक रोजगारीबाट प्राप्त रकमले ठूलो भूमिका खेलेको देखिएको छ ।
अध्ययनको मूल उद्देश्यअनुरुप वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषणकै कारण आम नेपालीको ठूलो हिस्साले आफूलाई आधारभूत आवश्यकता पूरा गर्नसक्ने अवस्थामा पु-याएको भने देखाएको छ । विप्रेषणको कारण आम नेपालीको आयमा सकारात्मक परिवर्तन आएको देखिन्छ । जसको कारण उनीहरुको पहुँच शिक्षा, स्वास्थ्यलगायतका आधारभूत आवश्यकतासम्म पुगेको छ । यसरी आधारभूत आवश्यकतामाथि पहुँच पुग्नुलाई सामाजिक सुरक्षाको एउटा कसी मानिन्छ । यस्तै आधारभूत रुपमा विप्रेषणले आम उपभोक्तालाई निरपेक्ष गरिबीको रेखाबाट माथि उठाउन भूमिका खेलेको कारण गरिबी निवारणमा वैदेशिक रोजगारीले सकारात्मक प्रभाव पारेको बताइएको छ ।
अध्ययन प्रतिवेदनले वैदेशिक रोजगारीमा गएकाहरुको आश्रित परिवारको आर्थिक अवस्था आय, बचत, खर्च, सामाजिक अवस्था, स्वास्थ्य, शिक्षा आदिमा आएको परिवर्तन, वैदेशिक रोजगारीबाट कमाएको रकम नेपाल पठाउने, प्राप्त गर्ने तरिकालगायतका विषयसँगसँगै विप्रेषणले ल्याएको सकारात्मक तथा नकारात्मक प्रभाव उद्देश्यअनुरुप विश्लेषण गर्दा वैदेशिक रोजगारीबाट प्राप्त रकमको ठूलो हिस्सा घरखर्चमा सकिने र थोरैमात्र बचत हुने अवस्था देखिएको जनाएको छ । बचत थोरैमात्र भए पनि आधारभूत आवश्यकतालाई विप्रेषणले धानेको देखिन्छ । वैदेशिक रोजगारीमा गएका व्यक्तिले कमाएको रकम प्रतिव्यक्ति आयभन्दा बढी नै छ । त्यसकारण वैदेशिक रोजगारीले गरिबी घटाउन महत्वपूर्ण योगदान गरेको बताइएको छ ।
वैदेशिक रोजगारीमा गएका व्यक्तिको परिवारको खर्च वार्षिक रुपमा दुई लाखदेखि चार लाख रुपैयाँसम्म छ । विप्रेषणको कारण बहुमत ७० प्रतिशतको खर्च गर्ने अवस्थामा परिवर्तन आएको विप्रेषणले शिक्षामा पारेको प्रभावलाई हेर्दा आफ्ना बालबालिकालाई सस्तो विद्यालयबाट महँगो सरकारी विद्यालयबाट निजी विद्यालयमा स्थानान्तरण गरेको अवस्था देखिन्छ । वैदेशिक रोजगारीबाट प्राप्त रकम खर्चको अवस्थालाई हेर्दा घर खर्चमा बढोत्तरी आएको, स्वास्थ्य उपचारमा खर्च बढेको कारण खर्च गर्ने अवस्थामा परिवर्तन आएको, विलासिताको वस्तुमा खर्च बढ्दा खर्चमा परिवर्तन आएको र पारिवारिक बचतमा परिवर्तन आएको बताइएको छ । पारिवारिक खर्चभन्दा विदेशबाट पठाएको विप्रेषण कम भएको कारण उनीहरुमा बचत गर्न नसकेको बताइएको छ । विप्रेषणले बालबच्चाको अध्ययन, वृद्धवृद्धाहरुको औषधि उपचारमा सहजता ल्याएको छ ।
प्रतिवेदनले परिवारमा श्रीमान्श्रीमतीलगायतका अन्य सदस्यहरुबीच पारिवारिक कलह निम्त्याएको बताइएको छ । वैदेशिक रोजगारीले समाजिक विचलन, परिवारमा कलह, बालबच्चाको स्याहारसुसारमा समस्या, वृद्धवृद्धाको हेरचाहमा समस्या आदि सामाजिक समस्या पनि निम्त्याएको छ । यति हुँदाहुँदै पनि वैदेशिक रोजगारी नेपालको अर्थ व्यवस्थाको एक महत्वपूर्ण अंशको रुपमा रहेको बताइएको छ । वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषणले हालका वर्षहरुमा कुल गार्हस्थ्य उत्पादनको एक तिहाइ अंश ओगटेको देखिन्छ । अर्कोतर्फ चर्को ब्याजदर समेत समस्याको रुपमा रहेको छ । वैदेशिक रोजगारीमा जाँदा चर्को ब्याजमा स्थानीय साहुसँग रकम सापटी लिने गरेको देखिन्छ । विदेशमा आयआर्जन गरेको रकमको ठूलो हिस्सा स्थानीयस्तरमा सञ्चालित रेमिटहरुबाट प्राप्त गर्ने गरेको र तिनै स्थानीय सहकारीमा राख्ने गरेको देखिन्छ ।
प्रतिवेदनको निष्कर्षमा भने वैदेशिक रोजगारी न्यून आय भएका घरपरिवारका निम्ति जीवन निर्वाहको एक महत्वपूर्ण आर्थिक क्रियाकलाप भएको निष्कर्ष निकाल्न सकिने बताइएको छ । आफन्तले विदेशबाट विप्रेषणको रुपमा पठाएको रकमविना उनीहरुको आधारभूत आवश्यकता पूरा हुने अवस्था नदेखिने अवस्था छ भने विदेशबाट पठाएको रकम आश्रित परिवारको गाँस, बास र कपासको व्यवस्था गर्दा सकिने अवस्थामा रहेको कारण बचत त्यति भएको अवस्था छैन । वैदेशिक रोजगारीबाट प्राप्त रकम बचत गरी उत्पादनको क्षेत्रमा लगाउन सकिने सम्भावना भए पनि देशको विद्यमान महँगी र आश्रित परिवारको बचत गर्ने सोच हुनु आदिले सोचअनुरुप प्रतिफल दिन सकेको अवस्था छैन । अध्ययनले वैदेशिक रोजगारीमा जानेमध्ये एकल परिवारमा बस्ने सदस्यहरु ५० प्रतिशतभन्दा बढी रहेको र संयुक्त परिवारमा बस्ने सदस्यहरु भने ३० प्रतिशतभन्दा कम रहेको जनाएको छ ।
एकल रुपमा सहरी वा अर्धसहरी क्षेत्रमा बच्चा पढाउनेलगायतका कारण एकल रुपमा बस्ने गरेको पाइएको छ । प्रतिवेदन तयारको क्रममा स्थलगत रुपमा तथ्यांक संकलन गर्न काठमाडौं उपत्यकामा रहेका काठमाडौं महानगरपालिका लगायत चन्द्रागिरि, तारकेश्वर र कीर्तिपुर नगरपालिका गरी चारवटा स्थानीय तह छनौट गरिएका थिए । ती स्थानीय तहबाट २५/२५ वटा वैदेशिक रोजगारीमा परिवारको सदस्य गएका घर छनौट गरिएको थियो । छनौट गरिएका जम्मा एक सयवटा परिवारका एक जना सदस्यलाई अन्तर्वार्तामा सहभागी गराई तथ्यांक संकलन गरिएको जनाइएको छ ।