विराटनगर । सुनसरीको दुहबी नगरपालिका वडा नं १ परास्टोकीमा दुई अर्ब ५० करोडको लागतमा स्टिल उद्योग सञ्चालनमा आएको छ । उद्योगले पत्रकार सम्मेलनको आयोजना गरी उद्योगले उत्पादन गर्ने विषयका बारेमा जानकारी दिएको थियो ।
उद्योगका निर्देशक रमेश राठीका अनुसार उक्त स्टिल उद्योगले बजरंग ब्रान्डको टिएमटी उत्पादन गर्नेछ । त्यसबाहेक बिलेटको व्यावसायिक कारोबार गर्नुका साथै छड, डिलेट, एंगल, च्यानल र आईबीमको उत्पादन गर्ने जानकारी निर्देशक राठीले दिएका थिए ।
उनले नेपालका ९० प्रतिशत उद्योगले आफ्नै भट्टी राखेर आफैँ बिलेट उत्पादन गर्दै आएको बताउँदै आफूहरूले पनि दैनिक पाँच सय टन क्षमतामा उत्पादन गर्दै आएको जानकारी दिए । उद्योगले भारतको टाटा स्टिल्सबाट कच्चापदार्थ आयात गरी अत्याधुनिक युरोपियन टेक्नोलोजीको प्रयोग गरी मजबुत, कम खिया लाग्ने र बढी लचकदार डण्डी उत्पादन सुुरु गरेको राठीले बताए । पूर्वमा निर्माणको गतिशीलतालाई मध्यनजर गरी उद्योग स्थापना गरिएको दाबी पनि उद्योगी राठीले गरेका थिए ।