अमेरिका । प्रविधि कम्पनी सामसङले साढे छ लाखभन्दा धेरै वासिङ मेसिन फिर्ता गरेको छ । मेसिन एक्कासि तात्ने र आगलागीको समस्या पाइएपछि फिर्ता गरिएको एजेन्सीहरुले उल्लेख गरेका छन् । धूवाँ आउने, पग्लिने, अत्यधिक तात्ने, आगो निस्किनेजस्ता समस्याबारे ५१ वटा उजुरीपछि कम्पनीले छ लाख ६० हजारवटा वासिङ मेसिन फिर्ता लिएको बताइएको छ । उक्त उजुरीमध्ये १० वटामा मेसिन नै पूर्णरुपले बिग्रिएको र तीनजना ग्राहक घाइते भएको बताइएको छ । सामसङका सुपरस्पिडका टपलोड वासरयुक्त धेरै मोडलमा यस्तो समस्या पाइएको हो । तिनमा डब्ल्यूए४९बी, डब्लुए५०बी, डब्लुए५१ए, डब्लुए५२ए, डब्लुए५४ए र डब्लुए५५ए रहेका छन् । यी मेसिनहरु सेतो, कालो, स्याम्पेन र आइभरी रंगमा बिक्री भएका थिए । कम्तीमा पनि १४ मोडलका मेसिन फिर्ता गरिएको बताइएको छ । उक्त मेसिनको मूल्य नौ सय अमेरिकी डलरदेखि एक हजार पाँच सय अमेरिकी डलरसम्म रहेको बुझिएको छ । कम्पनीका अनुसार एउटा सफ्टवेयर अपडेट गरेपछि यो समस्या समाधान हुनेछ ।