काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका वडा नं ६, पोखरेबगरमा बैंकको ५२औँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । सेवाग्राहीको बढ्दो चाप र बिस्तारित बैंकिङ सेवाको आवश्कतालाई मध्यनजर गर्दै ग्लोबल आईएमई बैंक बेनी शाखाको मातहतमा रहनेगरी यो एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याइएको हो ।
यस एक्सटेन्सन काउन्टरबाट निक्षेप सङ्कलन गर्ने, नगद भुक्तानी गर्ने, मोबाइल तथा अनलाइन बैंकिङ सेवा दिने, रेमिट्यान्सको सुविधा प्रदान गर्नेलगायत सबै किसिमका साधारण बैंकिङ सेवाहरू उपलब्ध हुनेछन् । ग्लोबल आईएमई बैंक मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।
बैंकले हाल दुई सय ९२ वटा शाखा, दुई सय ७१ वटा एटीएम, दुई सय ८३ शाखारहित बैंकिङ सेवा, ५२ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी नौ सयभन्दा बढी सेवाकेन्द्रबाट ३० लाखभन्दा बढी ग्राहकहरूमाझ सेवा प्रदान गर्दै आएको छ ।
यसका साथै बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, यूएई, बहराइन, कुबेत, भारत, जोर्डन, हङकङलगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थव्यवस्थामा महत्वपूर्ण योगदान पु-याउँदै आइरहेको छ ।