काठमाडौं, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो नेतृत्वमा नयाँ सरकार गठनका लागि राष्ट्रपतिसमक्ष आफ्नो दाबी पेश गरेका छन् । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा भएको राजनीतिक दलका शीर्ष नेताहरुको बैठकले अध्यक्ष दाहाललाई प्रधानमन्त्री बनाउने निर्णय गरेको थियो । माओवादी, एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, राष्ट्रिय उन्मुक्ति पार्टी लगायतको समर्थन पेश गर्दै अध्यक्ष दाहालले प्रधानमन्त्रीमा दाबी पेश गरेका थिए। नेपालको संविधानअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले आज साँझ ५ बजेसम्म राजनीतिक दलहरुलाई प्रधानमन्त्रीको दाबी पेश गर्न समयसीमा प्रदान गरेका थिए। दाहाललाई प्रतिनिधिसभाका कूल एक सय ६९ सांसदसहितको समर्थन रहेको छ । त्यसमा नेकपा (एमाले)को ७८, माओवादी केन्द्रको ३२, राष्ट्रिय स्वतन्त्र पार्टीको २०, राष्ट्रिय प्रजातन्त्र पार्टीको १४, जनता समाजवादी पार्टीको १२, जनमत पार्टीको छ, नागरिक उन्मुक्ति पार्टीका चार र अन्य तीन स्वतन्त्र सांसदको समर्थन छ । राष्ट्रपति भण्डारीलाई पेश गरिएको समर्थनपत्रमा एमाले संसदीय दलका नेता केपी शर्मा ओली, माओवादी केन्द्रका दल नेता दाहाल, स्वतन्त्र पार्टीका संसदीय दलका नेता रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता राजेन्द्र लिङ्देनले हस्ताक्षर गरेका छन् । यस्तै, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका संसदीय दलका नेता चन्द्रकान्त राउत, नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता रञ्जिता श्रेष्ठले हस्ताक्षर गरेका छन् । यसैगरी स्वतन्त्र सांसद प्रभु साह, किरण साह र डा अमरेशकुमार सिंहले पनि समर्थन गरेका छन् । नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम माओवादी केन्द्रका संसदीय दलका नेतासमेत रहेका अध्यक्ष दाहालले प्रधानमन्त्रीका लागि दाबी पेश गरेका हुन ।