काठमाडौं । मुलुकको उद्योग क्षेत्रमा आउने लगानी प्रस्ताव अर्थात् प्रतिबद्धतामा २४ प्रतिशत अर्थात् ३७ अर्ब १६ करोड रुपैयाँले कमी आएको छ । चालू आर्थिक वर्षको पाँच महिनाको अवधिमा स्वदेशी तथा विदेशी लगानीकर्तामार्फत एक खर्ब १४ अर्ब ६९ करोड रुपैयाँ लगानी प्रस्ताव आएको छ । सो लगानी प्रस्ताव आएसँगै गत आर्थिक वर्षको पाँच महिनाको अवधिको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा स्वदेशी तथा विदेशी लगानीकर्तामार्फत आउने लगानी प्रस्तावमा २४ प्रतिशतले कमी आएको हो ।
उद्योग विभागका अनुसार गत आर्थिक वर्षको पाँच महिनामा एक खर्ब ५१ अर्ब ८५ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको थियो । सो लगानी प्रतिबद्धता एक सय ३४ वटा उद्योग तथा १२ हजार दुई सय ३५ जनालाई रोजगारीसहित आएको हो ।
यस्तै चालू आर्थिक वर्षको समीक्षा अवधिमा आएको उक्त लगानी प्रतिबद्धता भने एक सय १७ वटा उद्योग तथा आठ हजार तीन सय ३२ जनालाई रोजगारीसहित भएको विभागका अधिकारीले जानकारी दिएका छन् । चालू आवमा ठूला ३२ वटा, मझौला ३६ वटा र ४९ वटा दर्ता भएका छन् । गत आवमा ठूला ३९ वटा, मझौला ४९ वटा र ४६ वटा दर्ता भएको थियो ।
विभागमा कृषि तथा वन पैदावरमा आधारित, ऊर्जामूलक, सूचना, प्रसारण तथा सञ्चार प्रविधि, उत्पादनमूलक, सेवामूलक र पर्यटनमूलक गरी छ प्रकारका उद्योग दर्ता हुन्छन् । सोही क्रममा स्वदेशी र विदेशी लगानीकर्ताहरुले चालू आवको समीक्षा अवधिमा सबैभन्दा बढी ऊर्जाजन्यमा ८० अर्ब ३७ करोड ७२ लाख रुपैयाँ, उत्पादनजन्यमा १० अर्ब ९६ करोड ७५ लाख रुपैयाँ, सेवाजन्यमा आठ अर्ब ६२ करोड ९८ लाख रुपैयाँ, पर्यटनजन्यमा १३ अर्ब ८७ करोड २४ लाख रुपैयाँ, सूचना सञ्चार तथा प्रसारण प्रविधिजन्यमा ३१ करोड रुपैयाँ, कृषि तथा वन पैदावरजन्यमा २३ करोड रुपैयाँ र खनिजजन्यमा २९ करोड ९७ लाख रुपैयाँ लगानी प्रतिबद्धता जनाएका छन् ।
ऊर्जाजन्य २४ वटा, उत्पादनजन्य ४० वटा, सेवाजन्य १९ वटा, पर्यटनजन्य २६ वटा, सूचना प्रविधिजन्य चारवटा, कृषि तथा वन पैदावरजन्य दुईवटा र खनिजजन्यमा दुईवटा उद्योग स्थापना गर्न उक्त लगानी प्रस्ताव गरेका हुन् । पर्याप्त पानी र उपयुक्त भू–बनोटको कारण स्वदेशी तथा विदेशी लगानीकर्ताहरुले नेपालको ऊर्जा अर्थात् विद्युत् गृह स्थापना गर्न आकर्षित भएको पाइन्छ । नेपालको ऊर्जा क्षेत्रमा गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पनि आकर्षित भएको पाइन्छ । जसले गर्दा एनआरएनएले विभिन्न विद्युत् गृह निर्माण कार्य अघि बढाएका छन् ।
यस्तै, गत आर्थिक वर्षको सोही अवधिमा भने सबैभन्दा बढी लगानी प्रतिबद्धता ऊर्जाजन्यमा ७६ अर्ब तीन करोड ७१ लाख रुपैयाँ, उत्पादनजन्यमा ३८ अर्ब ७२ करोड ५७ लाख रुपैयाँ, सेवाजन्यमा १७ अर्ब ६४ करोड १७ लाख रुपैयाँ, पर्यटनजन्यमा १५ अर्ब ९४ करोड ८६ लाख रुपैयाँ, कृषि तथा वन पैदावरजन्यमा एक अर्ब ८५ करोड ८१ लाख रुपैयाँ र सूचना प्रविधिजन्यमा एक अर्ब दुई करोड रुपैयाँ लगानी प्रतिबद्धता जनाएका थिए । उक्त लगानी प्रतिबद्धता ऊर्जाजन्य १६ वटा, उत्पादनजन्य ५८ वटा, सेवाजन्य १९ वटा, पर्यटनजन्य २७ वटा, कृषि तथा वन पैदावरजन्य १० वटा र सूचना, सञ्चार तथा प्रसारण प्रविधिजन्य तीन वटा उद्योग स्थापनाका लागि जनाएका थिए ।
यसैबीच संख्यात्मक रुपमा धेरै लगानीकर्ता तथा लगानी आउन नसके पनि लगानीप्रतिको आकर्षण भने रहिरहेको देख्न सकिने उनीहरुको भनाइ छ । लगानी प्रस्तावका साथै भित्रिने रकम महत्वपूर्ण हुने गरेको पाइन्छ । जसले गर्दा लगानी नआउने, उद्योग स्थापना हुन नसक्ने र रोजगारीको अवसर समेत प्राप्त हुँदैन । यसलाई कार्यान्वयन गर्न गराउन निजी क्षेत्र, सरकारी निकाय र विदेशी लगानीकर्ताहरुबीच समन्वय आवश्यक रहेको छ । सरकारले उद्योग क्षेत्रमा लगानी बढाउन विभिन्न सभा–सम्मलेन गरे पनि त्यसले सार्थकता पाउन सकेको छैन । विभागका साथै लगानी बोर्डबाट समेत नेपालको उद्योग क्षेत्रमा ठूलो लगानी आउने गरेको पाइन्छ ।
स्वदेशी लगानीकर्ताहरुले औद्योगिक व्यावसायिक ऐन २०७६ र विदेशी लगानीकर्ताहरुले प्रत्यक्ष विदेशी लगानीमार्फत नेपालको उद्योग क्षेत्रमा लगानी गर्न पाउँछन् । त्यस्तै सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन, २०७५, राष्टिय बौद्धिक सम्पत्ति नीति, २०७३, विदेशी लगानी नीति, २०७१, औद्योगिक नीति, २०७६, कम्पनी ऐन, २०६३ लगायतले नेपालमा उद्योग स्थापना तथा लगानी ल्याउन सहयोग गरेको छ ।