काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालक समितिको यही पुस सात गते बसेको तीन सय ३३औँ बैठकबाट साबिक सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिका अध्यक्ष केशव प्रसाद भट्टराईलाई कम्पनीको अध्यक्ष पदमा चयन गर्ने सर्वसम्मत निर्णय भएको जानकारी दिएका छ । कम्पनीका अनुसार सोही दिन नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालसमक्ष पद तथा गोपनीयताको शपथग्रहण गरे । तत्पश्चात् सोही दिन अपराह्न बसेको सञ्चालक समितिको ३३४औँ बैठकमा अध्यक्ष भट्टराईद्वारा सञ्चालकहरू नन्द किशोर शर्मा, हेमन्त नाहटा, विवेक झा, जयन्त कुमार अग्रवाल एवं प्रिया तायललाई पद तथा गोपनीयताको शपथग्रहण गराए । कम्पनीको सञ्चालक समितिको सल्लाहकारमा आकाश गोल्छा नियुक्त भएका छन् ।
सूर्या लाइफ इन्स्योरेन्स कम्पनी तथा ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लि. एक–आपसमा गाभ्ने गाभिने सम्बन्धमा दुबै कम्पनीबीच मिति २०७९।०७।०४ गते अन्तिम सम्झौता भई दुवै कम्पनीको मिति २०७९।०७।२८ गते सम्पन्न वार्षिक साधारणसभाबाट सो सम्बन्धमा विशेष प्रस्ताव पारित भएपछि नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्डलगायत कम्पनी रजिष्ट्रारको कार्यालयबाट ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लि.लाई सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लि.मा गाभ्न स्वीकृति प्राप्त भएबमोजिम सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नाममा मिति २०७९/०८/२७ मा कम्पनी दर्ता प्रमाणपत्र तथा नेपाल बीमा प्राधिकरणबाट एकीकृत कारोबार गर्ने स्वीकृति प्राप्त भएपश्चात् मिति २०७९/०९/०७ गतेदेखि सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नामबाट एकीकृत कारोबार सञ्चालन भएको छ ।