काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले सुदूरपश्चिमका विभिन्न जिल्लामा अभिकर्ता भेटघाट तथा सम्मान कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । सो सम्मान कार्यक्रम पुसको पहिलो हप्ता धनगढीमा सुरु भई, लम्की, महेन्द्रनगर हुँदै नेपालगञ्ज पुगेर सम्पन्न भएको थियो ।
कार्यक्रमबारे कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत निराजन कंडेलले भने, ‘रिलायन्स साथीहरू कम्पनीका मेरुदण्डहरू हुनुहुन्छ, उहाँहरूले आफ्नो व्यावसायिक कार्यमा प्रदर्शन गर्नुभएको लगनशीलता, मिहिनेत तथा कार्यकुशलताको हामी हृदयबाटै प्रशंसा गर्दछौँ । उहाँहरूको अथक परिश्रमले गर्दा यस कम्पनीको व्यापार विस्तारमा टेवा पुगेको छ तसर्थ उहाँहरूको योगदानको कदर तथा पहिचान गर्दै हामीले देशभर सम्मान तथा भेटघाट कार्यक्रम आयोजना गर्दै आएका छौँ र यसपाली सुदूरपश्चिमका विभिन्न जिल्लामा अभिकर्ता भेटघाट तथा सम्मानका साथै उहाँहरूको सर्वाङ्गीण विकासमा पनि सहयोग पुग्नेछ भन्ने हिसाबले प्रशिक्षण पनि प्रदान गरेका छौँ ।’
सो कार्यक्रममा कम्पनीका एक सयभन्दा बढी अभिकर्ताहरू ‘रिलायन्स साथी’हरूलाई उत्कृष्ट व्यावसायिक प्रदर्शन गरिएबापत सम्मान गरिएको थियो । उक्त कार्यक्रममा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत निराजन कंडेल, चिफ विजिनेश अफिसर सूर्य प्रकाश गुप्ता, चिफ विजिनेश अफिसर सन्दिप कसजु तथा कम्पनीका स्थानीय प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।