काठमाडौं । बैंकिङ कसुर मुद्दाका चार जना फरार प्रतिवादी पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) महाराजगञ्जबाट खटिएको प्रहरीले बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी चार जनालाई पक्राउ गरेको हो ।
सीआईबीका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक कमल थापाका अनुसार पक्राउ पर्नेहरूमा मकवानपुर हेटौंडा उपमहानगरपालिका–३ बस्ने ४८ वर्षीय राजन बर्तौला, सिन्धुपाल्चोक पाँचपोखरी गाउँपालिका–६ घर भई हाल भक्तपुर सूर्यविनायक बस्ने ३८ वर्षीय विकास ज्योति, भक्तपुर सूर्यविनायक नगरपालिका–१० बस्ने ३५ वर्षीय राम सुन्दर कार्की, गोरखा बारपाक सुलिकोट गाउँपालिका–६ घर भई भरतपुर चितवन बस्ने ५० वर्षीय नवराज पनेरू रहेका छन् । उनीहरुमध्ये राजन र नवराजलाई भरतपुर चितवनबाट, विकासलाई ललितपुर लगनखेलबाट र राम सुन्दरलाई काठमाडौं जोरपाटीबाट पक्राउ गरेको प्रवक्ता थापाले जानकारी दिए ।
पक्राउ परेकामध्ये बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनको विभिन्न मितिको फैसलाले राजनलाई १२ दिन कैद र ३४ लाख ९० हजार रुपैयाँ जरिवाना, विकासलाई १५ दिन कैद र ४२ लाख रूपैयाँ जरिवाना, राम सुन्दरलाई चार दिन कैद र १५ लाख ९२ हजार आठ सय ९० रुपैयाँ जरिवाना र नवराजलाई १० दिन कैद र २९ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका थिए । उनीहरूलाई फैसला कार्यान्वयनका लागि सम्बन्धित जिल्ला अदालतमा पेस गरिएको प्रहरी उपरीक्षक थापाले जानकारी दिए ।