काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको मुख्य ध्यान अर्थतन्त्र सुधारमा नै रहेको बताएका छन् । मन्त्रिपरिषद्को पहिलो बैठकबाटै सरकारले अर्थतन्त्रको सुधारलाई नै प्राथमिकतामा राखेको बताउँदै उनले यसका लागि निजी क्षेत्रसँग पनि सहकार्य गर्ने बताए ।
नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको प्रतिनिधिमण्डलले मंगलबार प्रधानमन्त्री दाहाललाई भेटी चुनौतीपूर्ण अवस्थामा रहेको मुलुकको अर्थतन्त्रको सुधार नयाँ सरकारको पहिलो प्राथमिकता हुनुपर्ने सुझाव दिएको थियो । साथै परिसंघले संकटपूर्ण अवस्थामा रहेको मुलुकको अर्थतन्त्रलाई पुनः गति प्रदान गर्न तत्काल चालिनुपर्ने स्पष्ट कदमसहितको ‘रिबुटिङ नेप्लिज इकोनोमी’ अवधारणा प्रधानमन्त्री समक्ष पेस गरेको छ । परिसंघले नेपाली अर्थतन्त्रलाई पुनः गति प्रदान गर्न वित्तीय क्षेत्र (तरलता संकट तथा उच्च ब्याजदर), औद्योगिक प्रवद्र्धन, पूर्वाधार, पर्यटन, ऊर्जा र सूचना प्रविधि क्षेत्रलाई प्राथमिकतामा राख्दै तत्काल गर्न सकिने उपाय समेत सुझाएको छ । परिसंघको यो सुझावलाई सरकारले उच्च प्राथमिकतामा राख्दै कार्यान्वयनमा लैजाने समेत परिसंघ अध्यक्ष अग्रवालले विश्वास व्यक्त गरे ।
जवाफमा दाहालले अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रबाट यस्तै खालको सुझाव खोजेको बताए । ‘मैले निजी क्षेत्रबाट यस्तै अपेक्षा गरेको थिएँ । परिसंघले स्पष्ट रूपमा सुधारका योजना दिएको छ, यसका लागि परिसंघलाई धन्यवाद’, उनले भने । नवनियुक्त प्रधानमन्त्री दाहाललाई परिसंघका पूर्वअध्यक्ष हरिभक्त शर्मा, उपाध्यक्षहरू निर्वाण चौधरी, कृष्णप्रसाद अधिकारी, विरेन्द्रराज पाण्डे, रोहित गुप्ता, परिसंघ उद्योग समिति सभापति गोकुल भण्डारी, परिसंघका महानिर्देशक दिपकराज जोशीले बधाई तथा शुभकामना दिएका थिए ।