काठमाडौं । नेपाल क्रेडिट एन्ड कमर्स बैंक (एनसीसी) र कुमारी बैंकले यही पुस १७ गतेबाट एकीकृत कारोबार सञ्चालन गर्ने भएका छन । दुवै बैंकले मर्जरमार्फत एकीकृत कारोबार सञ्चालन गर्न लागेका हुन् ।
एकीकृत कारोबारको लागि दुबै बैंकको सयुक्त मर्जर समितिले यही पुस १७ गतेबाट एकीकृत कारोबारको मिति घोषणा गर्दै सेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकीकरण तथा सूचीकरण प्रयोजनको लागि एकीकृत कारोबार हुने मिति अर्थात् यही पुस १७ गतेबाट १२ दिन बैंकको सेयर कारोबार रोक्का राखिदिन नेपाल धितोपत्र बोर्डलाई पत्राचार गरेको छ ।
कुमारी बैंक लि र नेपाल क्रेडिट एन्ड कमर्स बैंक लिमिटेड एक आपसमा गाभ्ने÷गाभिने (मर्ज) सम्पन्न भएपछि चुक्ता पुँजी २६ अर्बभन्दा बढी हुनेछ भने शाखासंख्या तीन सय ५५, एटीएम संख्या दुई सय ४४, एक्स्टेन्सन काउन्टर संख्या ५१, निक्षेप (ग्राहक) तीन खर्ब एक अर्बभन्दा बढी, कर्जा दुई खर्ब ७८ अर्बभन्दा बढी हुनेछ ।