काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड (बीओके)ले डिजिटल कारोबारलाई प्रवर्द्धन गर्ने अभिप्रायसहित विभिन्न सेवाहरूलाई डिजिटल तवरले प्रदान गर्दै आइरहेकोमा आफ्नो ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै अब बैंकमा अन्य बैंक तथा वित्तीय संस्थाबाट भुक्तानी हुनेगरी खिचिएको क्लियरिङ चेकहरू कियोस्क मेसिनमार्फत जम्मा गर्नसकिने सेवाको शुभारम्भ गरेको छ । यो नयाँ सेवामार्फत ग्राहकहरूले विना कुनै झन्झट सजिलैसँग मेसिनमा चेक जम्मा गर्नसक्ने बैंकले जनाएको छ ।
यस सेवाको शुभारम्भपछि ग्राहकहरूले भौतिकरूपमा कुनै भौचर नभरीकन केबल आफ्नो जम्मा गर्नुपर्ने क्लियरिङका चेकहरू मेसिनबाट सोझै आफ्नो खातामा जम्मा गर्न मिल्ने व्यवस्था रहेको छ । ग्राहकहरूलाई सहज बैंकिङ प्रदान गर्नपर्छ भन्ने अभिप्रायले बैंकले ल्याएको यस सुविधामा ग्राहकहरूले चेक जम्मा गर्ने मेसिनमा जम्मा गर्नुपर्ने खाता नम्बर, रकम, चेक जारी भएको मिति, चेक जम्मा गर्न आएका ग्राहकहरूको सम्पर्क नम्बर तथा क्लियरिङ सेसनलगायतका विवरणहरू राखेपछि जम्मा गर्ने चेक स्क्यान गरी चेक जम्मा गर्न सक्नेछन् । उक्त चेक जम्मा भएपछि ग्राहकहरूले चेक जम्मा भएको प्रमाणीकरणको लागि मेसिनबाट जारी हुने भौचर प्राप्त गर्नेछन् ।
बैंकले उक्त सेवा हालको लागि आफ्नो मुख्य शाखा कार्यालय कमलादीमा सञ्चालन गरेको र यस सेवालाई निकट भविष्यमा देशभरका सम्पूर्ण शाखा कार्यालयहरूमा समेत विस्तार गर्ने योजना रहेको छ । कियोस्क मेसिनमार्फत क्लियरिङ चेक जम्मा गर्ने सेवाले चेक जम्मा गर्नको लागि भौतिक रूपमा भौचर भरी बैंकको चेक जम्मा गर्ने काउन्टरमा लाइन बसी चेकहरू जम्मा गर्नुपर्ने अवस्थाबाट ग्राहकहरूलाई छुटकारा मिल्ने विश्वास बैंकले लिएको छ । बैंकले हाल एक सय चारवटा शाखा कार्यालयहरू, ९४ एटीएम र १० एक्स्टेन्सन काउन्टरमार्फत आफ्ना ग्राहकहरूलाई बैंकिङ सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको छ ।