काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था र नेरुडे लघुवित्त वित्तीय संस्थाबीच मर्जरसम्बन्धी सम्झौता भएको छ । सोमबार दुवै संस्थाका प्रमुखहरूले मर्जरसम्बन्धी प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
मर्जरको लागि दुवै संस्थाहरूबीच एक बराबर एकको स्वाप रेसियो कायम भएको छ । सम्झौताअनुुसार मर्जरपश्चात् बन्ने संस्थाले नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाको नाउँबाट एकीकृत कारोबार सञ्चालन गर्नेछ । मर्जरसम्बन्धी सम्झौतामा मिर्मिरेको तर्फबाट सञ्चालक समितिका अध्यक्ष टेक बहादुर बोहोरा र नेरुडेका तर्फबाट सञ्चालक समितिका अध्यक्ष डा. भेषप्रसाद धमलाले हस्ताक्षर गरेका हुन् ।
सम्झौताअनुसार एकीकृत कारोबारपश्चात् बन्ने नयाँ संस्थाको अध्यक्षमा हालको मिर्मिरे लघुवित्तका अध्यक्ष बोहोरा र प्रमुख कार्यकारी अधिकृतमा नेरुडेका भोजराज बस्याल रहने सहमति भएको छ ।