काठमाडौं, फागुन २८
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले स्वास्थ्य सामग्रीको सहज आपूर्ति गर्ने व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् ।
कोराना भाइरस (कोभिड १९)का सन्दर्भमा आपूर्ति व्यवस्थाका विद्यमान स्थितिबारे चेम्बरले मंगलबार आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा अध्यक्ष श्रेष्ठले बजारमा औषधि, मास्क, सेनिटाइजरलगायतका सामग्रीहरुका सहज आपूर्तिको व्यवस्था गर्नुपर्नेमा जोड दिए ।
चेम्बरले वाणिज्य तथा आपूर्तिसचिव डा. वैकुण्ठ अर्याल तथा स्वास्थ्यसचिव यादव कोइरालासँग आपूर्ति व्यवस्थाका विद्यमान अवस्थाबारे छलफल गरेको थियो । कार्यक्रममा व्यवसायीहरुले बजारमा सबै सामग्रीहरु पर्याप्त मात्रामा रहेको बताउँदै हल्लाको पछि लागेर आफूलाई चाहिनेभन्दा बढी सामान किनेर राख्दा बजारमा अभाव सिर्जना हुने भएकोले आवश्यकताभन्दा बढी सामग्री नकिन्न पनि उनीहरुले आग्रह गरेका छन् । ‘उपभोक्ताले आफूलाई जति सामान चाहिन्छ, त्यति मात्रै किन्नुपर्छ । यदि यस्तो गरिएन भने बजारमा कालोबजारीलाई बढाउँने काम गर्छ । त्यसैले यसलाई रोक्नु पर्छ’, उनीहरुको भनाइ छ । बजारमा पाँच/छ महिनाको लागि पुग्ने खाद्यान्न, औषधि, चिनी, नुन लगायतका सामग्री रहेको व्यवसायीहरुले बताएका छन् । साथै ग्यास, पेट्रोलियम पदार्थ पनि एक महिनाको लागि पुग्ने रहेको उनीहरुको भनाइ छ ।
उक्त पदार्थ आयातमा कुनै किसिमको अवरोध नआएको पनि उनीहरुको भनाइ छ । कार्यक्रममा खिचापोखरी न्यूरोड व्यापार संघका अध्यक्ष मनोज बाबु श्रेष्ठ, आपूर्ति व्यवस्थापन समितिका सभापति देवेन्द्र भक्त श्रेष्ठ, साल्ट ट्रेडिङका महाप्रबन्धक उर्मिला श्रेष्ठ, नेपाल ग्यास वितरक संघका अध्यक्ष चन्द्र कृष्ण श्रेष्ठ, एलपी ग्यासका अध्यक्ष गोकुल भण्डारी, नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रसाद प्रधान, नेपाल खुद्रा व्यापार संघका अध्यक्ष राज कुमार श्रेष्ठ, नेपाल औषधी उत्पादन संघका अध्यक्ष नारायण बहादुर श्रेष्ठ, नेपाल वितरक संघका अध्यक्ष राजेन सिंमखडा, फलफूल व्यापार संघका अध्यक्ष अमर वानियाँ सहभागी थिए ।
त्यस्तै नेपाल आयल निगमका नायव कार्यकारी निर्देशक सुशिल भटराई, वाणिज्य तथा उपभोक्ता हित संरक्षण विभागका नेत्र प्रसाद सुवेदी, नेपाल खाद्य किराना व्यवसायी संघका अध्यक्ष देवेन्द्र भक्त श्रेष्ठ, खाद्यान्न र खुद्रा व्यापार संघका पूर्वअध्यक्ष पवित्र बज्रचार्य, जिल्ला प्रशासन कार्यलयका सहायक प्रमुख जिल्ला अधिकारी जीवन आचार्य, रसायन तथा मेडिकल आपूर्ति संघ नेपालका अध्यक्ष सुरेश घिमिरे, औषधी उत्पादनसंघका पूर्वअध्यक्ष शंकर घिमिरे र नेपाल एलपी ग्यासका निवर्तमान अध्यक्ष शिव प्रसाद घिमिरेको उपस्थिति रहेको थियो ।