काठमाडौं । सेयर बजार परिसुचक पुन उकालो लागेको छ । अघिल्लो दिन १७ दशमलव २४ अंकले उकालो लागेको बजार परिसुचक साताको दोस्रो कारोबार दिन सोमबार पुन १७ दशमलव ५६ अंकले उकालो लागेर दुई हजार ६३ दशमलव ८३ बिन्दुमा चढेको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ८८ अंकले उकालो लागेर तीन सय ९४ दशमलव ८९ बिन्दुमा चढेको छ । यसदिन १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय ५३ वटा कम्पनीहरुको सेयर खरिद बिक्री भएका छन् । जसबाट ४८ हजार पाँच सय तीन पटकको कारोबारमा ८२ लाख ७१ हजार तीन सय ५५ कित्ता सेयर किनबेच भएका छन् । सोही किनबेचका आधारमा यसदिन कुल कारोबार रकम दुई अर्ब ९६ करोड नौं लाख २७ हजार चार सय ४० रुपैंयाँ पुग्न सफल भएको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा यसदिन कारोबार भएका कुल उपसमुहहरु मध्ये तीन वटा उपसमुहहरुको सुचक ओरालो लागेर बाँकी उपसमुहहरुको सुचक उकालो लागेका छन् ।